वीरगञ्ज,पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुई पक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा उमेशकुमार महतो पक्ष र महन्त महतो पक्षबीच भएको झडपमा दुवै पक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवै पक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् । उमेशकुमार महतो र महन्त महतोबीच लामो समयदेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा परेको थियो ।
अदालतमा परेको मुद्दामा उमेशकुमार महतोको पक्षमा फैसला भएपछि उमेशकुमार महतोले खेतमा तोरी छरेका थिए । तोरी बालीमा सिँचाई गर्नेक्रममा खेतको नाप नक्सा गरेर मात्रै काम गर्नु भनेर महन्त महतो पक्षले उमेशकुमार महतो पक्षलाई सिँचाई गर्न रोक लगाएपछि झडप भएको हो ।झडपका क्रममा उमेशकुमार महतो, अनिल कुश्वाहा, अमिरनारायण कुश्वाहा, राधेश्याम कुश्वाहा, सुनितादेवी लगायत घाईते भएका छन् । महन्त महतो पक्षका विश्वनाथ कुश्वाहा, विजय भन्ने अमरजित कुश्वाहा लगायतका १०-१५ जनाको समूहमा आएका उनीहरुले उमेशकुमार महतो पक्षकालाई एक्कासी लाठ्ठीले प्रहार गरेको उमेश पक्षको आरोप छ ।उमेश पक्षका घाइतेहरुको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको र महन्त पक्षको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



















