वीरगञ्ज,नागरिकताको प्रमाणपत्रबाट वञ्चित जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।सोमबार दिउँसो घण्टाघर चोकबाट सुरु भएको विरोध ¥याली माइस्थान, आदर्शनगर, अलखीयामठ, घडीअर्वा पोखरी चोक हुँदै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।नागरिकता विहिन नागरिक संघर्ष समिति पर्साको अगुवाईमा भएको विरोध ¥याली र कोणसभामा सहभागीहरुले नागरिकता “विधेयक प्रमाणीत गर”, “जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दे”, “आमाको नामबाट पनि नागरिकता दे” लगायतका नारा लेखिएका प्ले कार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।नागरिकता विहिन नागरिक संघर्ष समिति पर्साका अध्यक्ष विवेक रौनीयारले बुबा आमा दुवै नेपाली नागरिक भएपनि आफुहरु अनागरिक भएर बाँच्नु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कि त राज्यले हामीलाई नेपाली नागरिकता देओस् होइन भने अनागरिक भनेर यो देशबाट निकाला गरोस ।’ नागरिकता नहँुदा बैंकमा खाता खोल्न देखि उच्च शिक्षा अध्ययन गर्नबाट समेत आफुहरु वञ्चित हुनु परेको दुखेसो उहाँले सुनाउनुभयो ।प्रदर्शनमा सहभागी समितिका उपाध्यक्ष धिरज साहले पनि बुबा र आमा दुबैको नामबाट नागरिकता पाउनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘बुबा आमा दुवै नेपाली नागरिक हुनुहुन्छ तर म उहाँहरुले नै जन्माएको सन्तान जन्मेदेखि नै अनागरिक भएर बाँचेको छु । नागरिकता नहुँदा जागिर पाएको छैन, अरु त के भन्ने मोवाइलको सिमकार्ड लिनबाट पनि वञ्चित हुनुपरेको छ ।’संसद्को दुवै सदनबाट पारित भइसकेको नागरिक विधयक यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरिदिँदा आफूहरु अनागरिक भएर बाँच्नु परेको भन्दै प्रदर्शनमा सहभागी सावन कलवारले पूर्वराष्ट्रपति भण्डारीप्रति आक्रोश नै पाख्नुभयो । कलवारले भन्नुभयो, ‘स्नातक तहको पढाइ सकिसकेको छु, उमेर पनि २२÷२३ वर्ष भइसक्यो, तर मसँग नागरिकता छैन, जसका कारण देशमै जागिर पाउन सकेको छैन, विदेश जान पनि सकेको छैन ।’नेपालकको संविधानमै २०६३ सालसम्म जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने उल्लेख हुँदासमेत सरकारले आफूहरुलाई वर्षौदेखि अनागरिक बनाएर राखेको गुनासो उहाँले भन्नुभयोे ।सरकारले राष्ट्रपतिबाट नागरिकता विद्येयक प्रमाणीकरण गराएर जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन अब पनि ढिला गरे देशभरका नागरिकता विहिन युवाहरु सडक आन्दोलनमा उत्रने चेतावनी समितिका अध्यक्ष रौनीयारले दिनुभयो । रौनियारले भन्नुभयो, ‘सरकारले अब पनि हाम्रो पीडा सुनेन भने हामी जस्तोसुकै कदम उठाउन बाध्य हेनेछौँ, जुन सरकारका लागि आत्मघाती कदम हुनेछ ।’

Leave a Reply