आरके राजन
सिम्रौनगढ,मित्र राष्ट्र बङ्गलादेशमा हिन्दु धर्माम्बलीहरुमाथि भएको भनिएको अन्याय, अत्याचार र दुव्र्यवहारको विरोधमा बाराको सिम्रौनगढमा आज प्रदर्शन भएको छ ।समस्त सनातनी हिन्दु परिवार सिम्रौनगढ बाराको आयोजनामा भएको उक्त विरोध प्रदर्शनका सहभागीहरुले बङ्गलादेश सरकार मुर्दावाद, सनातन धर्म जिन्दावाद, हिन्दुहरुमाथिको अन्याय अत्याचार बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएर बजार क्षेत्र परिक्रममा गरेका थिए ।
अमृतगन्जस्थित रानीवास मठबाट सुरु भएको सो प्रर्दशन अमृतगन्ज, जानकी नगर हुँदै सिम्रौनगढ बजार परिक्रमा गरि बस पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
महाबालेश्वर महन्थ सन्त रामचन्द्रदास बैरागीको अध्यक्षता भएको सो कोण सभामा जिल्लाको पर्सौनीका सन्तशुक्ला बाबा बलाजी, सनातन धर्म रक्षा मञ्चका दीनबन्धु कुशवाहा, रामदल आश्रमका अरुण चौधरी, रानीवास अमृतगन्ज रामजानकी मन्दिरका महन्थ बिनोद गिरी, रामबाबु व्यास, रामबिलास साह लगायतले आफ्नो विचार व्यक्त गरेका थिए । मन्तव्यको क्रममा उनीहरुले बङ्गलादेशमा हिन्दुहरुमाथिको भएको दमनको चर्को विरोध गर्दै दोषिमाथि कडा कारबाहीको माग पनि गरेका थिए ।कोणसभाको सञ्चालन सिम्रौनगढ– २ अमृतगन्जका बुधराम मुखियाले गर्नुभएको थियो ।


















