कलैया,मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले मात्र एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरको विशेष निर्देशनमा मधेस प्रदेशका आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ति टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो । गत साउन मसान्तमा ४ करोड ५२ लाख, ४३५ रुपैया बराबरको भारतबाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कारबाहीको लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले जानकारी दिनुभयो ।

त्यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ । स्रोत नखुलेको १७ लाख ८ सय २५ रुपैया बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कारबाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।

त्यस्तै ६ लाख ६१ हजारको चौपाया, ८ लाख १६ हजार बराबरको अवैध काठ, बरामद गर्नुका साथै ५५ सय थान विभिन्न प्रकारको लागुऔषध, ७६० किलोग्राम गाँजा बरामद गरेको छ ।

साउन मसान्तमा ५ जना चेलीबेटी उद्वार, ८६ पटक संयुक्त गस्ती, ९ पटक समकक्षी बैठक र १८ पटक लिंक गस्ति भएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ । सशस्त्र प्रहरीको सक्रियताले विगतको भन्दा तस्करी कम हुंदै गएको दाबी गरिएको छ ।

 

Leave a Reply