बाघ जंगली जनावर हो । यो कुरामा दुईमत रहेन । बाघ हिंस्रक जनावर हो यसमा पनि थप व्याख्या आवश्यक रहेन तर बाघको सिकार वा बाघलाई मार्न भने कानुनतः पाइदैन तर बाघका कारण धेरैले ज्यान गुमाउन परेको छ ।जंगल छेऊका बच्चादेखि बृद्धसम्मले ज्यान गुमाउन परेको तीतो यथार्थ समाजमा यसै पनि छ । बाघले मान्छे मार्छ भने बाघको हत्या गर्न किन नपाइने भन्ने तर्क समाजमा बढी उठेको देखिन्छ तर हाम्रो कानुनमा बाघ मार्नका लागि निषेध गरिएको छ ।सरकारले बाघको संरक्षणका लागि नीति बनाइरहेको छ भने यता मानिस र बाघका बीचमा भने तनाब देखिन्छ । मानिसमाथि बाघले आक्रमण गर्ने गरेको त यसै पनि छ नै । साथमा मानिसले नै पाल्ने गरेका जनावरहरुको समेत बाघले आक्रमण गरेर क्षति गर्न थालेपछि बाघसंग बढी स्थानीयहरु रिसाएका देखिन्छन । पर्सामा हालै यस्तै भएको छ ।बाघ मारेर स्थानीयहरु भाग्न बाध्य हुन परेको छ । आफैलाई मार्न आएको ठानेर उनीहरुले बाघको हत्या गरे या जनावर मार्न आएको ठानेर हत्या गरे वा रमाइलोका कारण बाघको हत्या गरे त्यसमा भने अनुसन्धान हुन आवश्यक छ । हत्याको उद्देश्यले आएको बाघ भए मारियो भन्दैमा जनतालाई सरकारी निकायले धेरै दुःख दिनहुन्न । हो, बाघ मार्न हुन्न तर बाघले मार्न खोज्छ भने उसलाई जोगाउने पनि कुरा भएन ।त्यसैले बाघ बाध्यताले मारिएको भए फरक तवरबाट हेरिनुपर्छ रहरले चैं बाघको हत्या नहोस ।

















