हेटौंडा – मदन भण्डारी लोकमार्गको अनुगमन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उहाँका कानून विज्ञ बाबुराम दहालको टोलीले धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक (हाल मदन भण्डारी लोकमार्ग) को अनुगमन गरेको हो । टोलीले यो मार्ग छिटो सक्नका लागि निर्देशन समेत दिएको छ । पूर्वाधार विज्ञ समेत रहनुभएका दहालले यस मार्ग छिटो सक्नका लागि निर्देशन समेत दिनुभयो । स्थानीयका समस्याहरु सुन्दै, सडक आयोजनाको कामको निरीक्षण गर्दै यस क्षेत्रमा परेका समस्याहरु समाधान गर्नका लागि समेत आफुले पहल गर्ने उहाँले वताउनुभयो ।
आयोजनामा गुणस्तरिय काम गर्नका लागि कुनैपनि कसर वाँकी नराख्नका लागि आग्रह गर्दै प्रधानमन्त्रीका कानुन विज्ञ दहालले भन्नुभयो–‘प्रधानमन्त्रीको निर्देशन पछी आयोजनाको टोली सहितले सडकको निरीक्षण गरेका हौं । अनुगमनका क्रममा त्यस क्षेत्रमा ८ वर्ष देखि पुल नवनेर समस्या समेत परेको रहेछ । पुल छिटो भन्दा छिटो निर्माण गर्नका लागि हामिले निर्देशन दिएका छौं । समयमानै काम सकेर सडक सञ्चालनमा ल्याउने योजनाका साथ मेरो आफ्नो जिल्ला भएकाले पनि यो मार्गको निरीक्षणमा आएको हुँ । दहाल सहित अनुगमनका क्रममा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल प्रेमबहादुर पुलामी, आयोजनाका प्रमुख सहितको टोलीले मदन भण्डारी मार्गको निरीक्षण गरेको हो ।
मदन भण्डारी लोकमार्ग ५० किमि कालोपत्रे
दुई वर्ष अघिसम्म पूर्वी मकवानपुरको फापरबारीबाट बिहान छुटेको बस साँझमात्र हेटौंडा आइपुग्थ्यो । तर आजभोली पूर्वी मकवानपुरको बकैया र बागमतीका बासिन्दाको लागि हेटौंडा पानी पधँेरे झैँ भएको छ । हेटौंडाबाट करिब ६० किमि दुरीमा रहेको बागमती गाउँपालिकाको कार्यालय झुरझुरे सवा १ घण्टाको मोटर यात्रामा पुगिन्छ । सिन्धुलीसँग सीमाना जोडिएको बागमती र बकैया गाउँपालिकाको मुहार धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक (हाल मदन भण्डारी लोकमार्ग) ले फेरिएको हो ।
हेटौंडादेखि सिन्धुलीबजारसम्म १ सय १५ किमि सडकमध्ये ५० किमि कालोपत्रे भइसकेको मदन भण्डारी लोकमार्ग सडक आयोजना हेटौंडाका सूचना अधिकारी केशव ओझाले बताए । ‘सडक दयाँ बायाँ टेवा पर्खाल लगाउने काम ९० प्रतिशत सकिएको छ, सडक कालोपत्रे २०७७ साउन १६ भित्र सकाउने निर्माण कम्पनीसँग सम्झौता छ ।’ हेटौंडाको चौघडाबजारदेखि सिन्धुली बजारसम्म २१ वटा पक्की पुल निर्माण सकिएको ओझाले बताए । ४ वटा पुल निर्माणाधिन रहेको उनले जानकारी दिए ।
स्थानीयको अवरोध लगायका समस्याका कारण १५ किमि सडक र २ वटा पुल निर्माणको काम भने अझै सुरु हुन नसकेको आयोजनाले जनाएको छ । ‘सिन्धुलीको ग्वाङ खोला र अठुवा खोलामा पुल निर्माण सुरु हुन सकेको छैन, स्थानीयसँग समन्वय भइरहेको छ’, आयोजनाका इन्जिनियर तथा सुचना अधिकरी ओझाले भने, ‘सबै पुलहरु २०७७ जेठसम्म निर्माण सकाउनुपर्ने ठेकेदार कम्पनीसँग सम्झौता छ ।
मुआब्जा बिवाद कायमै
मुआब्जाबारे टुङ्गो नलाग्दा हेटौंडाको चिसापानीदेखि चौघडासम्म ४ किमि र सिन्धुलीको धुराबजारमा ४ किमि सडक निर्माण अघि बढाउन नसकेको आयोजनाका नायब सुब्बा राजकुमार अर्यालले बताए । साथै पहिरोका कारण सिन्धुलीको हाकपारा पहिरोमा २ किमि र मकवानपुरको छतिवनमा फाष्टट्रयाकसँग जोडिएको २ किमि सडक कसरी निर्माण गर्ने भन्ने बारे टुङ्गो लाग्न बाँकी रहेको उनले जानकारी दिए ।
आयोजनाले मकवानपुरको बकैया र बागमती, सिन्धुलीको हरिहरपुरगढी र मरिन गाउँपालिकामा मुआब्जा बितरण गरिसकेको छ । मकवानपुरमा ८ करोड र सिन्धलीमा करिब ५ करोड रुपैयाँ मुआब्जा बितरण गरिएको आयोजनाका नायव सुब्बा अर्यालले बताए । हेटौंडाको १६,१७ र १८ नम्बर वडाको मुआब्जा बितरणको तयारी अन्तिम चरणमा रहेको अर्यालले जानकारी दिए । आयोजनाका अनुसार हेटौंडा सिन्धुली खण्डमा एक हजार परिवारले मुआब्जा पाउनेछन् । उनीहरुको लागि २४ करोड रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको आयोजनाले जनाएको छ ।
७० प्रतिशत काम सकियो
हेटौंडादेखि सिन्धली बजारसम्मको १ सय १५ किमि सडको ७० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ‘भौतिकतर्फ ६५ प्रतिशत र बित्तियतर्फ ५५ दशमलव ९६ प्रतिशत काम सकिएको छ’, आयोजनाका सूचना अधिकारी ओझाले भने । सिन्धुली हेटौंडा सडक खण्डमा पुल निर्माणको काम जेडआइसिसी÷अनक÷लुम्बिनी जेभीले भ्याट सहित २ अर्ब ९९ करोड रुपैयाँमा ठेक्कामार्फत काम गरिरहेको छ ।
कालिका÷स्वच्छन्द÷राम्केन जेभीले भ्याट सहित ७ अर्ब १० करोड रुपैैयाँमा ठेक्का पारेर २०७३ कात्तिकदेखि सडक निर्माणको काम गरिरहेको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने आयोजनासँग ठेकेदार कम्पनीहरुको २०७३ सालमा सम्झौता गरेको थियो । सिन्धुलीको भिमानदेखि उदयपुरको बसाहासम्म १ सय ३५ किमी सडक निर्माण करिव ६५ प्रतिशत सकिएको आयोजनाको गाइघाट कार्यालयले जनाएको छ ।