कलैया,कलैया उपमहानगरपालिकाका प्रमुख बिनोदप्रसाद साहले नगरको विकासका निम्ति शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको निर्माण मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।कलैयाको चौतर्फी विकाशको लागि चाहिने हरेक क्षेत्रको विकाश आवश्यक रहेको भएतापनि शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको निर्माणमा आफ्नो मुख्य ‘फोकस’ रहेको प्रमुख साहले बताउनुभएको छ ।कलैया उपमहानगरपालिकाले मंगलवार वडा नम्बर २४ को मनहर्वामा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले नगरपालिकाभित्र भ्रष्टाचारलाई शून्य पार्ने प्रतिबद्धता अनुसार आफू निष्पक्ष रुपले लागेको बताउंदै नगरको चौतर्फी विकासको लागि आवश्यक पूर्वाधारहरुको निर्माणमा जोड दिएर काम गर्दै आएको पनि बताउनुभयो ।उहाँले सडक पुगेको स्थानमा विकास पुग्ने गरेको बताउंदै आफ्नो कार्यकालमा नगरका २७ वटै वडामा सडकहरुको निर्माण तथा स्तरोन्नति गरिने तथा विद्यालय एवम स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित बनाउदै लैजाने बताउनुभयो ।नगरप्रमुख साहले नगरभित्र आन्तरिक पर्यटन भित्र्याउन विभिन्न पर्यटन केन्द्र तथा खेल मैदानहरु समेत निर्माणको प्रकृयामा रहेको बताउनुभएको छ ।कार्यक्रममा वडा नम्बर २४ का अध्यक्ष हिरालाल चौधरी, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, ईन्जिनियर माधव यादव, प्रशासन प्रमुख दिवाकर झा, आईटी प्रमुख सुरेश यादव, नजबुल्लाह अंसारी, विभिन्न राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ता तथा आम नागरिकहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संयोजन कलैयास्थित विश्वास एफएमले गरेको थियो ।


















