निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू सम्पन्न गरेको छ ।समूहका अध्यक्ष जयप्रसाद ढुङ्गाना (राजन) का अनुसार समूहको बार्षिक कार्यक्रम अन्तर्गत वृक्षारोपण र सामाजिक उत्तरदायित्वका कार्यहरु पूरा गरेको हो । उहाँले वातावरण संरक्षणको लागि समूहको वन क्षेत्रको खाली भूभागमा उन्नत जातका २५० थान बाँस र २०० बोट चिउरीको बिरुवा रोपिएको र समूहको आन्तरिक कोषबाट अतिविपन्न परिवारहरूलाई स्वास्थ्य बीमा अनुदान, गोबरग्यास जडानमा सहयोग, उत्कृष्ट विद्यार्थी सम्मान र आगलागी पीडित परिवारलाई निःशुल्क काठ वितरण जस्ता सामाजिक तथा सामुदायिक विकासका कार्यहरू पनि संचालन गरेको जानकारी दिनुभयो ।समूहले वातावरण संरक्षण र स्थानीय स्रोतको दीगो प्रयोगलाई ध्यानमा राखेर वन क्षेत्रको खाली जमिनमा वृक्षारोपण गर्दैैआएको र वार्षिक रुपमा छपान कटान आदेशबाट प्राप्त काठ दाउरा बिक्रीबाट कोष वृद्धि र त्यसबाट प्रत्येक उपभोक्तालाई सहज रूपमा काठ र दाउरा उपलब्ध गराउनुको साथै वन विकासका अन्य गतिविधिलाई पनि निरन्तरत संचालन गर्दैआएको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।



















