पुष्पराज खतिवडा

मनहर्वा,पिलुवा–कलैया सडकखण्डको माथ्लो बडहर्वाको मोतिचोक नजिकै टिपरको ठक्करबाट एकजना यूवकको ज्यान गएको छ ।जिल्लाको सुवर्ण गाउँपालिका वडा नंं. ३ हर्दिया पर्सुरामपुर निवासी भेलुक रामका छोरा २० वर्षका राजाबाबु चमारको मृत्यु भएको हो ।मंगलवार साँझ कलैयाबाट पिलुवातर्फ जाँदै गरेको ना ७ ख ५४६६ नम्बरको पिटरको ठक्कर पैदलयात्री चमारको घटनास्थलमै ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको बारा प्रहरीले जनाएको छ ।चमारलाई ठक्कर दिएर फरार भएको टिपर र सोका चालक पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका वडा न २ निवासी ४५ बर्षका वीरबहादुर गुरुङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चालकसहित टिपरलाई सशस्त्र प्रहरी ४० नं. रिजर्व गण हेडक्वाटर पिलुवाको नियन्त्रणमा राखिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम्प्रसाद पाण्डेले जानकारी दिनुभयो ।मृतक चमार अन्य केही साथीसँगै सर्लाहीको हरिऔनमा मजदुरी गरेर घर फर्कदै गरेका थिए ।पिलुवा– कलैया सडकखण्डमा पछिल्लो समय दुर्घटना बढिरहेका छन् । तीव्र गतिमा गुड्ने टिपरका कारण दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । ट्राफिक प्रहरीको फितलो नियमन र लापरबाहीका कारण पछिल्लो समय दुर्घटना बढेको स्थानीयले बताए ।


















