मंगलबार बिहान सामाजिक संजालहरु निकै तातिएको देखियो । मुख्यतः हालै कारागारबाट निस्किनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको भेटको विषयमा संजाल तातेको देखियो ।नेपाली राजनीति यसैका कारण केही हदसम्म गर्माएको पनि छ । मुख्यतः ठूला भनिएका नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलका लागि यो टाउको दुखाइको पनि विषय होला तर रवि र बालेनको लगभग मध्य रातसम्मको भेटको विषयमा भने धेरैथरिका कुराहरु आएका छन् ।

नेपाली समाजले एउटा वैकल्पिक शक्तिको खोजी गरिरहेको कुरा सत्य हो । लामो समयसम्म देशको शासन सत्तामा रहेर देशका लागि केही गर्न नसकेको आरोप काँग्रेस, एमाले, माओवादी लगायतका दललाई लागि रहेको छ । अबको निर्वाचनमा केही नेपाली जनताले यिनीहरुको विकल्प खोजेको पनि भनेका छन् र यो बाटोमा रवि र बालेन सहितका केही व्यक्तिहरु सामेल हुने भन्ने समाचारहरु पनि आइरहेकै छन् । अब यसले कत्तिको सार्थक रुप लिन्छ र कति संभव होला वा टिक्ला÷नटिक्ला भन्ने कुरा पनि महत्वपूर्ण छ ।
रवि आफै चोखो मानिस नभएको कुरा एक थरि विश्लेषण पनि गरेको सुनिन्छ भने अर्का थरिले बालेनको पनि कुरा काटिरहेकै छन् । यसको अर्थ नेपालको राजनीतिमा दाग नै नलागेको मान्छे त पाउन गाहे होला तर फरक फरक स्वभाव भएका यी दुईमा मिलाप कसरी होला ? भइ हाले कति दिन टिक्ला र देश र जनताका लागि के फाइदा होला भन्ने कुराको बहस हुन आवश्यक छ ।अर्को कुरा देश र जनताका लागि इमान्दारिताका साथ कुनै गठबन्धन बन्यो भने जनताले अवश्य पनि साथ दिने नै छन तर व्यक्तिगत स्वार्थ र महत्वकांक्षा पूरा गर्न मात्रै बनाइने यस्तो गठबन्धनप्रति जनताको साथ हुनेछैन । किन कि आजका नेपाली जनता यस्तो विषयमा धेरै नै जानिफकार भइसकेका छन । उनीहरुले नेपालका राजनीतिक दल र त्यसका सबै नेताहरुको बारेमा धेरै कुरा बुझिसकेका छन र जनताको पक्षमा काम गर्ने सच्चा तथा इमान्दार नेता र पार्टीलाई नै सहयोग गर्नेछन ।



















