निजगढ,१९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका सर्वाधिक गोलकर्ता समीर तामाङलाई निजगढ ८ नम्बर वडा कार्यालयले सम्मान गरेको छ ।वडा कार्यालयले सोमवार सम्मान कार्यक्रमको आयोजना गर्दै समिरलाई नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेको हो ।निजगढ वडा नम्बर ८ निवासी समिरले राष्ट्रिय टोलीमा समावेश भएर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सर्वाधिक गोल गर्दै देशको गौरव बढाएको वडा अध्यक्ष स्वर्ण लामाले बताउनुभयो ।उदयमान खेलाडीलाई सम्मान गर्दा खेलाडीलाई प्रोत्साहन गर्नु कर्तव्य रहेको भन्दै सोही कारण समिरलाई सम्मान गरिएको वडा अध्यक्ष लामाले जनाउनुभयो ।वडा कार्यालयले खेल र खेलाडीको संरक्षण र प्रवद्र्धनको लागि विभिन्न योजनाहरु बनाएको बताउँदै आगामी दिनमा वडामा खेलकुद गतिविधि प्रभावकारी ढङ्गले संचालन गर्ने लामाले उल्लेख गरे ।असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा संचालित प्रतियोगितामा समिरले तीन खेलमा तीन गोल गर्न सफल भएका थिए ।सम्मान कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्यद्वय मनमाया तामाङ, पबित्रा सुनार, वडा सदस्य शालिकराम ढुंगाना, समाजसेवी विष्णुकुमार खड्का, मधेस प्रदेश फुटबल संघका सदस्य तथा बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष राजकिशोर धामी लगायतको सहभागिता थियो ।

Leave a Reply