सिमरा,बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण सेज सञ्चालनका लागि विद्युतीकरण शुरु भएको छ । सिमरा सेजको ५ वटा ब्लक रहेकोमा ‘ए’ ब्लकको ३ सय ४३ बिगाहामध्ये १ सय ६० बिगाहामा विद्युतीकरण गर्न थालिएको हो । १० करोड रूपैयाँको लगानीमा १ वर्षभित्र विद्युत प्रसारण लाइनको सबै काम सक्ने गरी भारतीय कम्पनी मल्टीटेक ट्रेड सर्कल प्रालिसँग सेजले सम्झौता गरेको मल्टिटेक ट्रेड सर्कल प्रालिका प्रोपाइटर अरुण जलानले बताउनुभयो ।
अबको ६ महिनाभित्र विद्युतीकरणको काम सक्ने उहाँले जानकारी दिनुभयो । विशेष आर्थिक क्षेत्र सेजको ‘ए’ ब्लकमा उद्योग सञ्चालनका लागि सरकारले आवश्यक सम्पूर्ण भौतिक तथा प्रशासनिक संरचना निर्माण गरिसकेको छ । ११ हजार भोल्टेजको विद्युत प्रसारण लाइनका लागि सेजमा पोल गाड्न थालिएको छ । बैंक, बिमा, भन्सार, प्रशासनिक भवन, खानेपानी, आन्तरिक सडक, नाला, वृक्षारोपण, दुधौरा खोलामा तटबन्धलगायत निर्माणमा उद्योग मन्त्रालयले अनुमानित ५ अर्ब खर्च गरिसके पनि जग्गाको भाडा महँगो भएको भन्दै उद्योगीहरू सेजमा आउन इच्छुक देखिएका छैनन् ।
विशेष आर्थिक क्षेत्र सेजका कार्यकारी प्रमुख चण्डिका भट्टले सेजभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगीका लागि जग्गाको भाडा घटाउने तयारी भइरहेको बताउनुभयो । जग्गा भाडा महँगो भएको भन्दै उद्योगीले विरोध गरिरहेका वेला प्रमुख भट्टले सेज सञ्चालन खर्च उठ्ने गरी न्यूनतम भाडादर कायम गर्ने बताउनुभयो । गतसाता सिमरा सेजमा विद्युतीकरण शिलान्यासपश्चात स्थानीय सरोकारवालासँगको छलफलमा भट्टले केही महिनाभित्र उद्योगीलाई सेजमा ल्याउने प्रतिवद्धता जनाउनु भएको थियो ।
सिमरा सेजको ८ सय ३३ बिगाहामध्ये ‘ए’ ब्लकमा पूर्वाधार निर्माण भइसकेको छ भने बाँकी ब्लकमा विदेशी लगानी भित्र्याउने तयारी भएको सेजले जनाएको छ ।