वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले आइतबार बिहान घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरी अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसलहरू हटाएको छ ।वीरगञ्जको मुख्य शहर क्षेत्रमा रहेका फलफूल, तरकारी तथा अन्य अस्थायी पसलहरू हटाई उद्यानलाई थप व्यवस्थित बनाउने उद्देश्यले यो कदम चालिएको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले घण्टाघरसँगै रहेको उद्यानमा फलफूल, तरकारी तथा अन्य अस्थायी पसलहरू राखिँदा अव्यवस्थित भएको भन्दै ती हटाएर पार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।उक्त स्थानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडाका पसल र विभिन्न खाद्य स्टल गरी करिब दुई सय ५० भन्दा बढी व्यापारीहरू व्यापार गर्दै आएका थिए ।
महानगर प्रमुख सिंहका अनुसार अब करिब ७० करोड रुपैयाँको लगानीमा सुन्दर तथा हरियाली पार्क निर्माण गर्ने योजना अघि बढाइएको छ ।यसअघि २०८१ साल पुष २१ गते हरित पार्क निर्माणका लागि भन्दै छुट्याइएको महानगरपालिकाको जग्गामा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको थोक तरकारी बजारका संरचनामा डोजर चलाएको थियो ।गत शुक्रबार मात्र महानगरपालिकाको नगर प्रहरी टोलीले बीपी उद्यानमा पुगेर माइकिङ गर्दै उद्यानको जग्गा खाली गर्न आग्रहसमेत गरेको थियो ।














