कलैया,सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय बाराले आह्वान गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले एक सूचना जारी गरेर सर्वसाधारणसंग यस्तो आह्वान गर्नुभएको हो । जिल्लामा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको, ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदि जग्गाहरू कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको भए सोको सूचना वा प्रमाणको विवरण १५ दिनभित्र यस कार्यालयमा सोझै वा इमेलमार्फत् उपलब्ध गराउन सूचनामा भनिएको छ ।

यसैगरी खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्यविपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको भए पनि सूचना दिन आह्वान गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाराले सूचना वा प्रमाण उपलब्ध गराउन १५ दिनको समयसिमा तोकिएको छ । गृहमन्त्रालयले एक साताअघि अतिक्रमण वा कब्जामा परेको सार्वजनिक जमिन बारेको जानकारी दिन देशभरका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो ।

Leave a Reply