मनोज शाह
जीतपुर,आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमितिले ७ जनाको नाम सिफारिस गरेको छ ।पार्टीका नेता–कार्यकर्ताहरूको बृहत् भेलाको निर्णयपछि क्षेत्रीय समितिले संसदीय निर्वाचनको लागि आकांक्षीहरुको नाम सिफारिस गरेको हो ।
भेलाले श्यामबाबू गुप्ता, बृजलाल यादव, कृष्णब्रत सिंह, नवराज त्रिपाठी, दिपेन्द्र पटेल, शोभाकर पराजुली र राजकिशोर गुप्ता लगायतका नेताहरूको नाम सिफारिस गरेको युवा नेता शेखर भण्डारीले जानकारी दिनुभयो । भेलाले सिफारिस भएका मध्ये जसले टिकट पाएपनि सबैले एकतावद्ध भएर सहयोग गर्नुपर्ने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेस बारा– ४ का क्षेत्रीय सभापती सुनिलकुमार गुप्ताको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।
बाराका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ ले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो भने अन्य निर्वाचन क्षेत्रहरुबाट भने अहिलेसम्म पनि नाम सिफारिस भएको छैन । बारा कांग्रेसले अन्य क्षेत्रहरुमा नाम सिफारिस गर्ने प्रयोजनाको लागि बैठक बस्ने तयारी भइरहेको जनाएको छ ।कांग्रेस केन्द्रले यसअघि प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित अधिकतम तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो ।



















