वीरगञ्ज,मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले नेपालका आदिवासी जनजाति समुदायलाई आपसमा लडाएर कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।नेपाल आदिवासी जनजाति महासंघ वीरगञ्ज महानगर कमिटी गठनका लागि आयोजीत भेलालाई सम्बोधन गर्दै प्राध्यापक डाक्टर शाक्यले नेपालमा आफ्नै भाषा, संस्कृति, धर्म, संस्कार रहेको आदिवासी जनजाति समुदायको पहिचान मेटाउनका लागि समुदायबीच नै लडाउने काम भइरहेको टिप्पणी गर्नुभयो ।आदिवासी जनजाति समुदायलाई राजनीतिक रुपमा विभाजित गरी पहिचान मेटाउने षड्यन्त्र गरिरहेकोले त्यसका लागि सबै आदिवासी जनजाति समुदाय एक हुनुपर्नेमा उहाँको जोड छ । बदलिँदो समाजसँगै अहिले भाषा संस्कृतिको संरक्षणमा पनि चुनौती थपिएको भन्दै त्यसको लागि संगठित हुनुपर्ने आवश्यक्ता उहाँले औँल्याउनुभएको छ ।नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष सोमबहादुर स्याङतान (लामा) को अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेश कमिटीका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकोटे मगर, फोनिज पर्साका संस्थापक उपाध्यक्ष जगत राई, नेपाल तामाङ घेदुङका जिल्ला सचिव छेडुप लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।यसैबीच भेलाले रोशनी श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, सचिवमा शशिकान्त महतो (धानुक), सहसचिवमा एन्जल चौधरी, कोषाध्यक्षमा अजयकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा राधिकाकुमारी गोले तामाङ, सदस्यहरुमा रामबिहारी थारु, सिंहबहादुर राई र थममाया मगर रहेका छन् ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष कमलबहादुर पिठाकोटे मगरले सपथ ग्रहण गराउनुभएको थियो ।