सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच दलले जगदम्बा स्टील्स् उद्योगभित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म उद्योग संचालनमा रोक लगाउन स्थानीय सरकार र प्रहरी प्रशासनसंग माग गरेका छन् । उद्योगमा बुधवार राति भएको विष्फोटको घटनापछि थप त्रसित बनेका स्थानीयबासीको मागअनुसार पाँच राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त बिहीवार विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने भट्टी स्थानान्तरण नभएसम्म संचालनमा रोक लगाउन माग गरेका हुन् ।उपमहानगरपालिकामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटीका अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । एमाले अध्यक्ष त्रिलोक बिक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
राजनीतिक दलले उद्योगको सिसिएम प्लान्टमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विष्फोटका घटना नियन्त्रण गर्न उद्योग प्रशासन गम्भीर नदेखिएको आरोप लगाएको छ । ‘यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रबाट पहलकदमी भईरहेको थियो । तर पनि भट्टी विष्फोट हुने क्रम रोकिएको देखिदैन । यस्तो घटनाले उद्योगभित्र जनधनको क्षति त छदैछ, उद्योग वरपर बसोबास गर्ने आमनागरिक पनि त्रसित अवस्थामा बस्नुपरेको छ । विष्फोटको घटनाले साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिकरुपमा असर पु¥र्याइरहेको अवस्थाप्रति हामी गम्भीर छौं’ विज्ञप्तिमा उल्लेख छ ।

बस्तीका बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर कारखाना संचालन गर्नुपर्ने भएपनि उक्त विषयमा गम्भीरता नदेखिएको हुँदा जोखिमपूर्ण भट्टीलाई अन्यत्र स्थानान्तरण गर्न राजनीतिक दलले माग गरेका हुन । भट्टी स्थानान्तरण नहुँदासम्म सञ्चालनमा पूर्णरुपमा रोक लगाउन स्थानीय प्रशासन र स्थानीय सरकारसंग उनीहरुको माग रहेको छ ।
मानवीय क्षति छैन : जगदम्बा स्टील्स
सिमरा,जगदम्बा स्टील्स् लिमिटेडले बुधवार राति कच्चा पदार्थ पगाल्ने भट्टी पड्किएर भएको घटनामा मानवीय क्षति नभएको जनाएको छ । उद्योगले बिहीवार दिउँसो विज्ञप्ति जारी गर्दै उक्त घटनामा मानवीय क्षति नभएको तर भौतिक क्षति भने ठूलो मात्रमा भएको जनाएको छ ।
विष्फोटको घटनामा भारत बिहार समस्तीपुरका ३५ वर्षीय अजय बैठा घाईते भई एलएस न्यूरो अस्पताल वीरगञ्जमा उपचाररत रहेको र अन्य कुनै मानवीय क्षति नभएको उद्योगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।विष्फोटका घटनाबाट ठूलो क्षति भएको भन्दै सामाजिक संजालमा आएका सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्य बुझेर मात्रै सूचना तथा सम्प्रेषण गर्न आग्रह गरिएको छ ।


















