सिमरा,पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेको घाइते वयस्क पाटे बाघको मृत्यु भएको छ । सोमवार बिहान खाना दिने समयमा कर्मचारीहरुले बाघ मृत अवस्थामा फेला पारेको निकुञ्जले जनाएको छ ।खोरमा राखिएको बाघलाई निकुञ्जले दैनिक ५ केजीका दरले भैँसीको मासु खुवाउने गर्दछ । करिब १० वर्ष उमेरको सो बाघ जंगलमा अर्को भाले बाघसँग जुध्दा घाइते भएको थियो । निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घाइते बाघलाई औषधी उपचार भइरहे पनि बचाउन नसकिएको बताउनुभयो ।

‘हामीले मासुमा औषधी हालेर खुवाइरहेका थियौँ, तर पनि सधैँ जङ्गलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ’ सूचना अधिकारी भगतले भन्नुभयो, ‘धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।’ उहाँले घाइते बाघको उपचार गरेर बचाउन असाध्यै समस्या हुने पनि सुनाउनुभयो ।
यसअघि पनि निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघमध्ये एक बघिनीको मृत्यु भएको थियो । यी दुवै बाघले जनधनको क्षति गरेको भन्दै ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी ल्याएर खोरमा राखेर निकुञ्जले रेखदेख गर्दै आएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघ मरेका छन ।हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनी बाघको सङ्ख्या बढ्दै गएको हो । १२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए ।
गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको सङ्ख्या बढेसँगै वासस्थानको अभाव हुँदा बाघहरू आफै जुधेर घाइते हुने र घाइते बाघले बस्तीमा पसेर जनधनको क्षति पु¥याउने गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।

Leave a Reply