कलैया,बाराका युवाहरूले बारा जिल्ला र मधेस प्रदेशको शिक्षा क्षेत्रको भौतिक, शैक्षिक तथा प्राविधिक विकासका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई १८ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका छन् ।इन्जिनियर सौरभ चौगाई, अभिषेक कुशवाहा, राम निवास कुशवाहा र प्रदीप कुशवाहाको नेतृत्वमा गएको टोलीले मन्त्री पुनलाई भेटी ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

ज्ञापनपत्रमा नेपाल सरकारले शिक्षा क्षेत्रको विकासका लागि विभिन्न नीति र कार्यक्रम ल्याए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अविलम्ब सुधार गर्नुपर्ने जोड दिइएको छ ।युवाहरूले विद्यालय व्यवस्थापन समितिविहीन रहेका सबै विद्यालयमा तत्काल समिति गठन गर्नुपर्ने, नेपालको संविधानले व्यवस्था गरेको निःशुल्क विद्यालय शिक्षाको पूर्ण पालना गर्न अङ्ग्रेजी माध्यमको नाममा महिनावारी हजारौँ शुल्क लिने प्रथालाई अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन् ।

मधेस प्रदेश अझै पूर्ण साक्षर हुन नसकेकाले प्लस टु मा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवकको रूपमा परिचालन गरी साक्षरता अभियान तीव्र बनाउनुपर्ने, डिजिटल युग सुहाउँदो कक्षा ४ देखि नै अनिवार्य कम्प्युटर शिक्षा लागु गर्नुपर्ने तथा विद्यालय तहमा नै घरायसी जीवनमा काम लाग्ने सीप र उच्च शिक्षामा रोजगारीमुखी पाठ्यक्रम समावेश गर्नुपर्ने उनीहरूको भनाई छ ।लाखौँ विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको मागहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न मन्त्री पुनसँग आग्रह गरिएको छ ।मन्त्री पुनले युवाहरूको माग जायज र सकारात्मक रहेको भन्दै सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ ।

Leave a Reply