सिमरा,भ्रष्टाचार मुद्दामा निलम्वनमा परेका जीतपुरसिमरा ३ का वडा अध्यक्ष ताराबहादुर कार्कीले सर्वोच्च अदालतको कागजपत्र किर्ते गरेको खुलेको छ ।कार्कीले गत बुधबार सर्वोच्च अदालतबाट सफाइ पाएको भन्दै पुनर्बहालीका लागि उपमहानगरमा लिखित निवेदन दिएका थिए । उनले बुझाएको निवेदनसहितको कागजपत्रमाथि उपमहानगरले सर्वोच्च अदालतलाई सफाइ पाए÷नपाएको सम्बन्धमा जवाफ मागेपछि फैसला किर्ते भएको प्रमाणित भएको हो । सर्वोच्च अदालतले उपमहानगरलाई पठाएको पत्रमा निवेदक ताराबहादुर कार्की र विपक्षी नेपाल सरकार भएको घुस मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर प्रतिवादी कार्कीले दायर गरेको मुद्दा हाल चालु अवस्थामा रहेको र नियमित पेसीमा भएको जानकारी गराएको छ ।
कार्कीको मुद्दामा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को क्रममा कागजपत्र जलेर नष्ट भएको पछिल्लो सर्वोच्चको पेसीमा उल्लेख छ । उपमहानगरले आन्दोलनमा कागजपत्र जलेको मौका छोपेर वडाध्यक्ष कार्कीले सफाइ पाएको किर्ते फैसला बनाएर ल्याएको जनाएको छ ।कार्कीले सर्वोच्चको लेटर प्याड र छाप किर्ते गरेर बनाएको सफाइ पत्रमा सर्वोच्चका शाखा अधिकृत योगेन्द्र पराजुलीको हस्ताक्षर रहेको छ । भदौ २० गते सफाइ पाएको भनिएको मुद्दामा कार्की आफैँले भदौ २२ गतेको मिति उल्लेख भएको पत्र उपमहानगरमा बुझाएका थिए ।दुई दिनभित्र कार्की आफैँले कागजपत्र बोकेर ल्याएपछि शंका लागेर उपमहानगरले छानबिन सुरु गरेको थियोे । गत वर्ष पुस २ गते घरबाटो सिफारिसमा सेवाग्राहीसँग ५ लाख नगद रकम लिएको अवस्थामा अख्तियारको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको थियो ।उपमहानगरपालिकाले सर्वोच्चको कागजपत्र किर्ते गर्ने निलम्वित वडाध्यक्ष कार्कीलाई कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको छ । उपमहानगरले इलाका प्रहरी कार्यालय सिमरालाई आवश्यक छानबिन तथा कारबाही गर्न पत्राचार गरेको हो ।


















