मनोज शाह
जीतपुर,भवन अभावमा समस्या बेहोर्नु परेपछि बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका जीतपुर बजारस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज उपमहानगरपालिकाको कार्यालय गेटमा बसेर पठनपाठन गरेका छन ।

उपमहानगरपालिकको ढिलासुस्तिले विद्यालयको निर्माणाधिन भवन लामो समयदेखि अधुरो रहेको र पठन पाठन प्रभावित बन्दै आएपछि विद्यार्थीहरुले सांकेतिक विरोध स्वरुप उपमहानगरपालिका कार्यालयको बसेर ४५ मिनेटको कक्षा गरेका हुन ।

विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहका अनुसार वर्षौंदेखि भवन नबनेपछि विद्यार्थीहरू कष्टकर अवस्थाबाट पढ्न बाध्य छन् । उहाँले भवन निर्माणको लागि दवाव दिने उद्देश्यले सांकेतिक विरोध स्वरुप नगरपालिका कार्यालयमा आएर अध्ययन अध्यापन गरिएको बताउनुभयो । ‘यदि विद्यालय भवन शीघ्र निर्माणको प्रक्रिया अघि नबढे अब प्रत्येक दिन दुई वटा क्लास नगरपालिकामै आएर संचालन गरिने छ ।’ प्रअ सिंहले बताउनुभयो ।

भवन निर्माणको लागि दवाव दिन नगरपालिका कार्यालयमा आउनुभएकी विद्यालयकी छात्रा खुश्बु गुप्ताले पनि कक्षा कोठा नहुँदा सिकाइमा ठूलो असर परेको बताउनुभयो । ‘हामीसँग भवन छैन, शिक्षक संख्या पनि कम छ । यही समस्या जानकारी गराउन नगरपालिका कार्यालयमा आएका हौं ।’ उहाँले पनि तत्काल समस्या समाधानको पहल गर्न नगरपालिकासंग माग गर्नुभयो ।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिकुमार गुप्ताले विद्यालय र समाजलाई उपमहानगरपालिकाका मेयर राजन पौडेलको तहसनहस पार्ने कार्य गरेको आरोप लगाउनुभयो । उहाँले विद्यालयको संरचना निर्माणमा बेवास्ता गर्दै आएको बताउँदै जिम्मेवार पक्षले छिटो ध्यान दिनुपर्ने बताउनुभएको छ ।विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थितिमा नगरपालिका कार्यालयमै पठन पाठन गरेर गरिएको सांकेतिक विरोध कार्यक्रमले समस्या समाधान गर्न स्थानीय निकायका जनप्रतिनिधिहरुलाई दवाव पुग्ने अभिभावकहरुले बताएका छन ।

विद्यालयको शौचालय तोडफोड
जीतपुर,
बारा जिल्लाको पर्सौनी गाउँपालिका– २ स्थित श्री बेङ्गा साह उच्च माध्यमिक विद्यालयमा निर्माणाधीन शौचालय अज्ञात समूहले तोडफोड भएको छ । विद्यालयका प्रधानाध्यापक मनोजकुमार शाहका अनुसार बिहीवार राति शौचालय तोडफोड भएको हो । ‘बिहान विद्यालयमा पुग्दा शौचालय तोडफोड भएको अवस्थामा देखियो, प्रअ शाले भन्नुभयो, कसले र किन भत्कायो भन्नेबारे स्पष्ट जानकारी प्राप्त भइसकेको छैन ।’
उहाँले विद्यार्थीलाई पनि सोधपुछ गरिएको तर कसैले पनि घटनाबारे कुनै जानकारी नपाएको भनेर जवाफ दिएको सुनाउनुभयो ।
प्रअ शाहका अनुसार शौचालय निर्माण कार्य विद्यालयसँग समन्वयबिना नै भइरहेको थियो । ‘गाउँपालिकाबाट मान्छे आउँछन्, आफै बनाउँछन्, आफै जान्छन् । हामीले सोधपुछ गर्ने अधिकार पनि पाउँदैनौँ,’ शाहले गुनासो व्यक्त गर्नुभयो ।
यता गाउँपालिकाका इन्जिनियरले भने शौचालयको ताल्चा पहिलेदेखि नै फोडिएको अवस्थामा रहेको बताउनुभएको छ । ‘हामी गएर सरसफाइको बाँकी गरेर काम सम्पन्न गर्ने प्रक्रियामा थियौँ । दुई दिनपछि विद्यालयलाई शौचालय हस्तान्तरण गर्ने योजना थियो, तर अहिले भत्काएको देखियो’ इन्जिनियरले बताउनुभयो ।
करिब ३० लाख रुपैयाँ लागतमा शौचालय तयार भएको थियो ।

Leave a Reply