कलैया,आउँदो आइतवार उपचुनाव हुने क्षेत्रमा बिहीवार रातिदेखि मौन अवधि सुरु भएको छ । प्रतिनिधि सभा अन्तर्गत बारा २, चितवन २ र तनहुँ१ मा राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइँदैन ।मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ(आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने पनि आयोगको आचारसंहितामा उल्लेख छ ।निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा शुक्रवारदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।यसैबीच बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल(भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ ।बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सुचनामा बारा क्षेत्र नम्बर २ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि बन्द गर्ने भनिएको छ ।एम्बुलेन्स, दुध तथा औषधी बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ ।उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष , पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति शुरक्षालाई दुष्टिगत गरि स्थानिय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो ।यस्तै, मतदान हुने १० गते आइतवारका दिन मतदानको लागि विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका संरचनाको प्रयोग हुने भएकाले उपचुनाव हुने निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन पनि आयोगले सरकारलाई अनुरोध गरेको छ ।चुनाव हुने दिन पनि सार्वजनिक गाडी समेत चल्नेगरी सुरक्षाको व्यवस्थापन गर्न र मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्म जाँडरक्सी बिक्री वितरणमा रोक लगाउन पनि आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।



















