सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका–अन्तर्गत पथलैया र अमलेखगञ्ज क्षेत्रमा सञ्चालनमा रहेका १२ होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता मापदण्डका आधारमा वर्गीकृत लोगो वितरण गरेको छ ।खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले स्वच्छताको अध्ययन तथा मूल्यांकनपछि चार श्रेणीमा लोगो वितरण गरिएको कार्यालयका प्रमुख सुरेशकुमार सिंहले बताउनुभएको छ ।
यसरी लोगो वितरण गरिएका मध्ये अति उत्तम श्रेणीमा परेका १ वटा होटल–रेस्टुरेन्टलाई ‘तीन तारा’ सहित ‘क’ लेखिएको लोगो, उत्तम श्रेणीमा परेका २ वटालाई ‘दुई तारा’ र ‘ख’ लेखिएको लोगो, सन्तोषजनक श्रेणीमा परेका २ वटालाई ‘एक तारा’ र ‘ग’ लेखिएको लोगो तथा सामान्य श्रेणीमा परेका ७ वटालाई ‘घ’ लेखिएको लोगो प्रदान गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।
स्वच्छता मापदण्ड मजबुत बनाउन र उपभोक्तालाई सुरक्षात्मक सूचक प्रदान गर्न होटलहरुलाई लोगो वितरण गरिएको कार्यालयले जनाएको छ । लोगो वितरण गर्नुभन्दा अगाडि कार्यालयको टोलीले मंसिर ३ र ४ गते ती होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको थियो ।
तीन तारा प्राप्त गर्ने होटलमा क्वी २० रिभर साईड प्रा.लि. अमलेखगंज, दुई तारा प्राप्त गर्ने होटलमा जर्गा होटल अमलेखगंज र एलिफेन्ट भिलेज रिर्सोट रहेको छ । त्यस्तै एक वटा तारा प्राप्त गर्ने होटलमा जंगल भ्यु रिसोर्ट अमलेखगंज र लम्साल होटल पथलैया रहेको छ ।सो अवसरमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, बारा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष अर्जुन लम्साल, खाद्य निरीक्षक अधिकृत श्रवणकुमार साह, जगतप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

















