वीरगन्ज,बितेको १२ घण्टा भित्रमा वीरगन्जमा कोरोना भाईरस संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा दुईजना र नारायणी बयोधा अस्पतालमा एकजना र नेशनल मेडिकल कलेजले स्थापना गरेको कोभिड अस्थायी अस्पतालमा गरि १२ घण्टा भित्रमा चारजनाको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर ठेगाना उल्लेख भएका ४० बर्षीय पुरुषको कोरोना संक्रमणका कारण गएराति साढे नौ बजे नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । बैशाख १३ गते कोरोना रिपोर्ट पोजेटिभ आएको उनलाई बैशाख १६ गते बिहीबार अस्पताल भर्ना गरिएको थियो । उनको बैशाख २१ गते गएराति मृत्यु भएको डाक्टर दासको भनाई छ ।
हिजो बेलुकी साढे आठ बजे नारायणी बयोधा अस्पतालमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का ७६ बर्षीय पुरुषको पनि ज्यान गएको छ । बैशाख १० गते बयोधा अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको उपचारका क्रममा हिजो बेलुकी साढे आठ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तव जानकारी दिनुभयो ।यसरी नै नेशनल मेडिकल कलेजको कोभिड अस्थायी अस्पतालमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का ६३ बर्षीय पुरुषको मृत्यु भएको छ । गएराति ११ बजे उनको मृत्यु भएको श्रीवास्तवले जानकारी दिनुभयो । उनी बैशाख २० गते अस्पतालमा भर्ना भएकोमा २१ गते कोरोना पोजेटिभ भएको थियो । त्यस्तै आज बिहानै नारायणी अस्पतालमा एकजनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २ का ६५ बर्षीय पुरुषको आज बिहान नारायणी अस्पतालमा मृत्यु भएको हो । बैशाख १६ गते अस्पतालमा भर्ना गरिएको उनको बैशाख १७ गते कोरोना पोजेटिभ आएको थियो । उनको उपचारकै क्रममा आज बिहान आठ बजेर १० मिनेटमा मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।