निजगढ,बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका निवर्तमान सदस्य एवम् नेकपा एमालेका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले जेनजी अगुवा सुदन गुरुङ्गले आफ्नो घरमा पुगेर धम्की दिएको घटनाको भ्रत्सना गर्नुभएको छ ।श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर गुरुङ्गले घरमै आफ्नो सिमरास्थित पुगेर ‘तेरो नेतालाई जे पनि हुनसक्छ’ भन्दै घरका कामदारलाई धम्कीपूर्ण सन्देश छोडेर गएको बताउनुभएको छ ।फेसबुकमा उहाँले लेख्नुभएको छ– ‘म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपी आज ६ गते मेरो जीतपुरसिमरा– ४ औराहामा रहेको मेरो घरमा जेनजीको कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएको घर पुनर्निर्माणको काम गर्ने मेरा कर्मचारी कामदारलाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोरभत्र्सना गर्दछु ।’

पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठले जेनजीको नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभुति गराइदिन नेपाल सरकार र स्थानीय सरकारसंग अनुरोधसमेत गर्नुभएको छ ।उहाँले मंसिर ३ र ४ गते सिमरामा घटेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दैै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना र घाईतेहरुको उपचारको उचित व्यवस्था गर्नको लागि सरकारसँग माग पनि गर्नुभएको छ ।
सिमरामा जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच बुधवार भएको झडपपछि उत्पन्न असहज परिस्थिति साम्य पार्न स्थानीय प्रशासनसंग वार्ता गर्न भनेर गुरुङ्ग शुक्रवार बारा आउनुभएको थियो ।सोही क्रममा स्थानीय जेननीहरुले आफूहरुलाई पूर्व सांसद श्रेष्ठ र उहाँका मानिसहरुले ज्यान लिने धम्की दिएको गुनासो गरेपछि जेनजी अगुवा गुरुङ्ग शनीवार दिउसो श्रेष्ठको घरमा पुग्नुभएको र उनलाई नभेटेपछि गत भाद्र २४ मा आगलागीबाट ध्वस्त बनेको घर निर्माणमा खटिएका प्राविधिक चिरञ्जिवी झासंग कुराकानी गरेर फर्किनुभएको थियो । केही जेनजी युवा लिएर श्रेष्ठको घरमा पुगेर फर्कने क्रममा गुरुङले केही संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा गुरुङ्गले आफू एमाले नेता श्रेष्ठलाई सम्झाउन गएको बताउनुभएको थियो ।


















