कलैया,रामराजा मोहन विक्रम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषणप्रसाद कुशवाहाको हत्यारा पक्राउ गर्नुपर्ने लगायत ५ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका बाराका शिक्षकहरुले हिजो हातमा कालोपट्टी बाँधेर पठनपाठन गरेका छन ।
बारा जिल्लास्थित पेसागत संघसंगठनहरुको आह्वानमा शिक्षकहरुले कालोपट्टी बाँधेर विद्यालयमा पठनपाठन गरेका हुन । जिल्लाका ९ वटा पेसागत संघसंगठनका प्रतिनिधिहरुले मंगलवार संयुक्त विज्ञप्ति निकालेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए ।
पेसागत संघ संगठनहरुले हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गरिनुपर्ने, मृतक शिक्षक कुशवाहालाई शहीद घोषणा गरिनुपर्ने, परिवारलाई आवश्यक क्षतिपुर्तिको व्यवस्था र शैक्षिक जगत तथा बारा जिल्लाको आमनागरिकको शान्ति सुरक्षाको सुनिश्चितताको माग गरेका छन ।आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षकहरुले चक, डस्टर र मार्कर प्रयोग नगरी अध्यापन गर्ने, भोलि शुक्रवार दिउसो ३ बजे रामराजा मोहन विक्रम बहुमुखी क्याम्पसबाट शान्तिपुर्ण ¥याली निकाल्ने र कलैयास्थित भरत चौकमा विरोध सभा गर्ने बताएका छन । साथै उनीहरुले आफ्नो माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा गत जेठ ३२ गते साँझ हत्या भएको थियो ।



















