वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– ६ माईस्थानस्थित गहवामाई मन्दिर नजिक सञ्चालित दीपसन एण्ड सानवी ज्वेलर्समा बिहीवार प्रहरीले छापा मारेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले दिउँसो करिब २ः३० बजे सो पसलमा प्रवेश गरी करिब तीन घण्टासम्म छानबिन गरेको हो ।
प्रहरीका अनुसार बिलबिजक बिना सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो ।
छानबिनका क्रममा सञ्चालक दीपक सर्राफसँग खरिद–बिक्रीका बिलबिजक माग्दा प्रस्तुत विवरणमा कैफियत देखिएको प्रहरीले जनाएको छ । खरिद गरिएको सुनको परिमाण बिक्रीभन्दा बढी देखिए पनि मौज्दात अनुसार सुन नभेटिएको भन्दै प्रहरीले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई बोलाएर थप अनुसन्धानका लागि बिलबिजक जिम्मा लगाएको थियो ।
तर, पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले भने प्रहरीमाथि कार्यक्षेत्र नाघेको आरोप लगाउनुभएको छ । उहाँले राजश्व कार्यालयको काम प्रहरी आफैंले गरेको भन्दै आपत्ति जनाउँदै भन्नुभयो, “प्रहरीले सूचना पाएको भए सम्बन्धित निकाय तथा व्यवसायीसँग समन्वय गर्नुपथ्र्यो। यस्तो छापा त सरासर ज्यादती हो ।”
यस क्रममा छापा मारिएको थाहा पाएपछि स्थानीय सुनचाँदी व्यवसायी र कालीगढहरूले घटनास्थलमा पुगेर प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए ।



















