वीरगञ्ज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ ।आयोगका अनुसार, नापी कार्यालय वीरगञ्ज– पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्कीस्थित कार्यालयमा कार्यरत कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायले छुट्टै जग्गा दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रुपियाँ घुस मागिरहेको उजुरीका आधारमा टोली खटाइएको थियो ।
अनुगमनका क्रममा दुबै जनालाई सेवाग्राहीबाट माग गरेको एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज महानगरपालिका– ३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ ।आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले आरोपित दुई जनामाथि आवश्यक थप अनुसन्धान जारी रहेको बताउनुभयो ।

















