वीरगञ्ज,नेपाल पत्रकार महासंघ पर्साका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको महासंघका पदाधिकारी र कार्यसमिति सदस्यहरुले बुधवार एक कार्यक्रमका बीच औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

प्रमुख निर्वाचन अधिकृत शत्रुघन नेपालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्दै पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण समारोहमा अध्यक्ष ओमप्रकाश खनालले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।‘नेपाल पत्रकार महासंघ पर्सालाई नयाँ उचाइमा पुर्याउन हामी सबैजना एकजुट भएर काम गर्नेछौं, अध्यक्ष खनालले भन्नुभएको छ, पत्रकारिताको मर्यादा र जनताको आवाजलाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो मुख्य जिम्मेवारी हुनेछ ।’

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पनि ईमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने र पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै अगाडि बढ्ने प्रतिवद्धता गरेका छन । कार्यक्रममा महासंघका उपाध्यक्ष भुषण यादव, उपाध्यक्ष (महिला) निलिमा पौडेल, सचिव विजय चौहान, सहसचिव एसके चौरसिया, सहसचिव (समावेशी) अजयकुमार चौरसिया, कोषाध्यक्ष सञ्जिव मिश्र तथा सदस्यहरुले पनि पदभार ग्रहण गरेका थिए ।कार्यक्रममा निर्वाचन अधिकृत नेपालले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै पत्रकारिता पेसाको संवेदनशीलता र महत्वलाई ध्यानमा राख्दै जिम्मेवारी निभाउन आग्रह गर्नुभएको थियो ।

Leave a Reply