कलैया,बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २४ हरपुरमा आगामी हप्ता मुस्लिम समुदायद्वारा आयोजना गर्न लागिएको बृहत् धार्मिक भेला ‘इज्तिमा’ लाई लक्षित गर्दै बारा र पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।आगामी वैशाख ११ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त भेलामा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा संयन्त्रलाई ‘हाइ अलर्ट’ मा राखेको हो ।
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कार्यक्रमस्थलको स्थलगत निरीक्षण गर्दै सुरक्षा तयारीबारे जानकारी लिनुभएको छ । उहाँका अनुसार आयोजकले नेपाल र भारतबाहेक अन्य देशका नागरिक सहभागी नहुने प्रतिबद्धता जनाएको छ भने गृह तथा परराष्ट्र मन्त्रालयबाट पनि अन्य विदेशीको सहभागिताबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।

प्रजिअ मिश्रका अनुसार भेलाको अन्तिम दिनसम्म १५ देखि २० हजार श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ । “हामीले सुरक्षालाई अत्यन्त संवेदनशील रूपमा लिएका छौँ, अनुमति बिना तेस्रो मुलुकका नागरिक भेटिएमा तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिन्छ,” उहाँले बताउनुभयो ।यसैबीच, पर्सा जिल्लाले पनि सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । वीरगञ्ज महानगरपालिका– १६ स्थित भन्सार अध्यागमन कार्यालय अगाडि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अध्यागमनका प्रतिनिधि सम्मिलित संयुक्त चेक पोस्ट स्थापना गरिएको छ। नेपाल–रक्सौल नाकाबाट हुन सक्ने अवैध आवागमन नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको हो ।

यता, विश्व हिन्दू परिषद् नेपालको ध्यानाकर्षणपछि प्रशासनले जिल्लाका मदरसाहरूको अनुगमनसमेत तीव्र बनाएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले वीरगञ्जका विभिन्न मदरसाहरूको निरीक्षण गर्दा एउटा मदरसा दर्ताविना सञ्चालनमा रहेको भेटिएको छ, जसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ ।दुवै जिल्लाका प्रशासनले धार्मिक भेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन र कुनै पनि शङ्कास्पद गतिविधि नियन्त्रण गर्न संयुक्त सुरक्षा रणनीति अपनाएको जनाएका छन् ।

Leave a Reply