रौतहट,रौतहटको चन्द्रपुर नगरपालिका– १ स्थित जनसेवा सामुदायिक वनमा वन समूहकै पदाधिकारीको संलग्नतामा दिनदहाडै काठ चोरी गर्ने प्रयास भएको खुलासा भएको छ । वन समूहका अध्यक्ष दण्डबहादुर पुलामी नै काठ तस्करीमा सलग्न भएको स्थानीयवासीको आरोप छ ।
स्थानीयका अनुसार केही समयअघि हावाहुरीले ढालेको ठूलो सालको रुखलाई डिभिजन वन कार्यालय रौतहटबाट अनुमति नै नलिई अध्यक्ष पुलामीले विभिन्न साइजको गोलिया बनाएर बुधवार चोरी निकासीको तयारी गरेको आरोप छ ।
ढलेको रुखलाई गोलिया बनाउने काम भइरहेको देखेपछि स्थानीयले विरोध गरेका थिए । सोही क्रममा घटनास्थलमा भेला भएका केही उपभोक्ताहरुले भिडियो बनाएर सार्वजनिक गरेका छन । भिडियोमा स्थानीय एक महिलाले सो रुख अध्यक्ष पुलामीकै आदेशमा काटिएको बताएकी छिन । ‘अध्यक्षकै आदेशमा काटिएको हो, सार्वजनिक भएको भिडियोभा उनले भनेकी छिन, साँझ गाडी ल्याएर अन्यत्रै लैजाने तयारी थियो ।” घटना सार्वजनिक भएपछि स्थानीयहरूले “दोषीमाथि तत्काल कारबाही हुनुपर्ने बताएका छन ।
घटनाबारे अध्यक्ष पुलामीले आफूले रुख काट्ने वा गोलिया बनाउने काम नगरेको दाबी गर्नुभएको छ । सो सामुदायिक वनमा यसअघि पनि काठ चोरी र तस्करीको प्रयास हुने गरेको स्थानीयको आरोप छ । उनीहरुका अनुसार, हरेकपटक वन समूहका पदाधिकारी र डिभिजन वन कार्यालयका केही कर्मचारीको मिलेमतोमा वन क्षेत्रमा काठ तस्करी हुने गरेको हो ।

















