दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा रहेको ऐतिहासिक घण्टाघरको चारवटै घडी दुई सातादेखि बन्द अवस्थामा छन् । शहरको मुख्य पहिचानका रूपमा रहेको घण्टाघर पुनः सञ्चालनमा आएको दुई वर्ष नपुग्दै फेरि बिग्रिएपछि स्थानीयवासीहरू निराश भएका छन् ।स्थानीय किराना व्यवसायी श्याम साहका अनुसार, घडी र घण्टी बन्द भएको लामो समय हुँदासमेत सम्बन्धित निकायको ध्यान नपुगेको देखिन्छ । ‘दैनिकजसो यहाँ सयौं मानिस आउजाउ गर्छन्, तर कसैले वास्ता गरेको देखिँदैन,’ उहाँले गुनासो गर्नुभयो ।

२०७९ सालको स्थानीय तह निर्वाचनको केही दिनअघि मात्र घण्टाघरको सरसफाइ, रंगरोगन तथा मर्मत कार्य सम्पन्न गरिएको थियो । एक दशकदेखि बन्द रहेको घडी र घण्टीलाई सञ्चालनमा ल्याउने अभियान स्वरूप गरिएको सो कार्यले प्रारम्भिक सफलतासँगै स्थानीयको आशा जगाएको थियो ।कलैयास्थित लक्ष्मी स्वीट्सका सञ्चालक सुरेश साह भन्नुहुन्छ, ‘मर्मतपछि केही समय मात्रै चलेको घडी अहिले फेरि बन्द भएको दुई हप्ता नाघिसक्यो, तर अहिलेसम्म मर्मतको कुनै पहल भएको छैन ।’

यसबीच, कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले घण्टाघरको घडी बन्द भएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । यदि घडी बन्द भएको हो भने छिट्टै सम्बन्धित निकायमार्फत आवश्यक मर्मत कार्य गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्थानीयवासीहरूका अनुसार, घण्टाघरको घडी समय जनाउने मात्र नभई सहरको सांस्कृतिक र ऐतिहासिक सम्पदा पनि हो। यसले कलैयाको पहिचान र गौरवलाई प्रतिनिधित्व गर्ने भएकाले यसको नियमित संरक्षण आवश्यक रहेको उहाँहरुको धारणा छ ।

Leave a Reply