नरेश गुप्ता
बरियारपुर,स्थानीय चुनाव निर्वाचनको मिति नजिकिएसंगै सिम्रौनगढमा उम्मेदवारहरुको सरगर्मी पनि बढेको छ । सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयशंकर यादव र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार किशोरी साहबीच सिधा ट्क्करको अवस्था छ ।
सिम्रौनगढ नगरपालिकामा अघिल्लो स्थानीय तहको चुनावमा पनि नेपाली कांग्रेशका यादव र लोसपाका साहबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला यादवले झिनो मतान्तरमा साहलाई पराजित गरेर मेयर पदमा निर्वाचित हुनुभएको थियो ।
गत स्थानीय तहको निर्वाचनमा साहले तत्कालीन मधेसी जनअधिकारी फोरमबाट उम्मेदवारी दिनुभएको थियो भने अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट सिम्रौनगढ्मा नगर प्रमुख पदमा उम्मेदवार बन्नुभएको छ ।
त्यसैगरी कांग्रेसबाट उपप्रमुखमा रिना कुशवहा र लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुखमा नजबु शेहर चुनावी दौडमा रहेका छन । बिगतका दिनमा सिम्रौनगढ नगरपालिकाभित्र देखिएको बिवाद, अनियमितता, भ्रष्टचारलाई स्थानीय जनताले राम्रोसंग नियालेको र निर्वाचनमा सक्षम र ईमान्दार उम्मेदवारलाई भोट हालेर विजयी तुल्याउने पक्षमा सिम्रौनगढबांसी रहेको बताइएको छ ।
स्थानीय तहको सरकार निर्वाचित भएपछि अघिल्लो ५ वर्षको अवधिमा सिम्रौनगढ नगरपालिकाको मुहार फेर्न कुनै काम नभएकोले अब अगामी चुनावमा नयाँ र सक्षम उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने स्थानीय मतदाताहरुको भनाइ छ ।
ऐतिहासिक तथा पर्यटकीय शंभावना बोकेको सिम्रौनगढको विकास र त्यहाँको पुरातात्वकी सम्पदाको संरक्षण हुन नसकेको भन्दै स्थानीयहरुले बताएका छन । अब निर्वाचित हुने जनप्रतिनिधिहरुले कंकाली मन्दिर, रानिबास मन्दिर, झरोखर पोखरी, ईशरा पोखरी लगायत सिम्रौनगढ नगरपालिकाभित्रका भौतिक सम्पदाहरु संरक्षण र विकास गर्नेमा स्थानीय फेरि पनि आशावादी देखिएका छन ।