निजगढ,आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निजगढ नगरपालिकाकामा वडास्तरका मतदाता शिक्षा स्वमसेवकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
निर्वाचन आयोगबाट स्वीकृत मतदाता शिक्षा विशेष कार्यक्रम अन्तर्गत निजगढका लागि तोकिनु भएका निर्वाचन सम्पर्क व्यक्ति एंव नगरपालिकाका योजना अधिकृत जीवन गौतमको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालयको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा वडा नम्बर १ देखि १३ नम्बरसम्मका मतदाता शिक्षा स्वयंसेवकहरुको सहभागिता रहेको थियो । तालिमपछि मतदाता स्वंमसेवकहरुले फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म वडामा गएर मतदाता शिक्षा सम्बन्धी कार्य संचालन गर्ने जनाइएको छ ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, मत बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरि नै मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको छ ।स्वयंसेवकले मतदाताको घरबस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रिया बारेमा जानकारी गराउने निर्वाचन सम्पर्क व्यक्ति जीवन गौतमले जानकारी दिनुभयो ।मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन कार्यालयको अपेक्षा रहेको छ ।



















