
कलैया २९ मंसिर ।संरक्षण नेपाल बाराको आयोजनामा श्रम शोषणसँग स्थागमन तथा मानव बेचविखन मुद्दाहरु सम्वोधनका लागि बाल श्रम र लैङ्गिक हिंसा अन्त्य सम्वन्धी एकदिने अभिमुखिकरण कार्यक्रम किहिवार कलैया उपमहानगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विनोद साहले कलैया बजारबाट बाल श्रम र श्रम शोषण अन्त्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरोकारवाला मिलेर कलैया बजार अनुगमन गरि होटेल तथा अन्य व्यवसायको काममा रहेकालाई उचित व्यवस्थापन गर्ने नगर प्रमुख साहले बताउनुभयो ।
बाल श्रमिकको तथ्याङ्क संकलन गरि जतिसक्दो चाढो बालश्रम निर्मुल गरिने उहाँले बताउनुभयो । नगरपालिकामा महिला हिंसा २ वर्ष यता न्यून रहेको साहले बताउनुभयो ।
नगर उपप्रमुख रोशन प्रविणले नगरपलिकाको बालश्रम उन्मुलन र महिला हिंसा अन्त्य गर्न सधै साथ र समर्थन रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बालबालिकाको क्षेत्रमा अग्रणी रुपमा काम गरिरहेका संरक्षण नेपालसँग हातेमालो गर्न नगरपालिका तयार रहेको बताउनुभयो । बाल श्रम तथा शोषण बिरुद्दमा कलैया उपमहानगरपालिकाको सहकार्यमा संरक्षण नेपालले बाल हेल्पलाइन १०९८ मार्फत सराहनीय कार्य गरि रहेको अधिकृत साहले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र शाखाका सहायक प्रहरी निरिक्षक रागनी यादवले प्रहरीमा यो वर्ष बाल श्रम सम्बन्धि मुद्दा नपरेको सुनाउदै र लैङ्गिक हिंसाको उजुरी र कारबाही बारे जानकारी दिनुभएको थियो । यसैक्रममा उहाँले प्रहरीमा १७ जना बालबालिका फेला परेको तथ्याङ्क रहेको अवगत गराउनुभयो । बोर्डर प्रहरी चौकी मटिअर्वा, बसतपुर र मुसहर्वाका प्रहरीले मानव बेचनबिखन तथा बाल श्रमको लागि भारत जानेहरुसंग सोधपुछ गर्ने गरेको उहाँले सुनाउनुभयो ।
त्यसैगरी कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नं २० वडा अध्यक्ष महम्द साबिर, संचारकर्मी पन्नालाल दास, महिला अधिकारकर्मी सावित्री शर्मालगायताले श्रम शोषणसँग स्थागमन तथा मानव बेचविखन मुद्दाहरु सम्वोधनका लागि बाल श्रम र लैङ्गिक हिंसा अन्त्य सम्वन्धी सुझावहरु दिनुभएको थियो ।
युनिसेफको सहयोग तथा एटविनको सहआयोजनामा संचालित बालश्रम शोषण रोथामः स्थानगमन तथा मानव बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तर्गत संचालित कार्यक्रमको अध्यक्षता संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पारस जयसवालले दिनुभएको थियो । कार्यक्रमबारे सहजीकरण लालवावु कुश्बवाहले गर्नुभएको थियो भने कार्यक्रम संचालन कार्यक्रम अधिकृत मुकेश कुश्वाहाले गरेको संस्थाका कृष्णाप्रसाद यादवले बताउनुभयो ।

















