दुष्यन्त चौधरी

कलैया , २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सर्कुलर अनुसार बारागढी गाउँपालिकामा शनिबार वडास्तरिय विस्तारित बैठक सम्पन्न भएको छ । सो बैठक बारागढी गाउँपालिका–६ स्थित सोहन स्मृति भवन, गडहलमा भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश लेखा समिति उपाध्यक्ष केवल प्रसाद चौधरी रहेका थिए । चौधरीले आफ्ना सम्बोधनमा पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउँदै आगामी निर्वाचनका लागि कार्यकर्ताहरूले जनतामाझ पुगेर एमालेको नीति, कार्यक्रम र उपलब्धिहरू जनतासम्म पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले एमाले देशको स्थायित्व, विकास र सुशासनको पक्षमा सदैव अग्रणी रहँदै आएको र त्यसलाई जनस्तरमा अझ मजबुत बनाउन कार्यकर्ताहरूले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकको अध्यक्षता बारागढी गाउँपालिका वडा नं. ६ का वडाकमिटी अध्यक्ष महेश पंडितले गर्नुभएको थियो । बैठकमा पार्टीका कार्यकर्ताहरू, युवा तथा महिला सञ्जालका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको बारागढी गाउँपालिकाका सचिव दिपक चौधरीले जानकारी दिनुभयो ।

बैठकमा हालको राजनीतिक परिस्थिति, संगठन विस्तार  र आगामी रणनीतिसम्बन्धी विस्तृत छलफल गरिएको थियो । साथै स्थानीय तहमा एमालेको जनसम्पर्क कार्यक्रमलाई बलियो बनाउने, गाउँ स्तरमा रहेका समस्या र जनचासोका विषयलाई पार्टीले प्राथमिकतामा राख्ने निर्णयसमेत बैठकले गरेको छ ।

कार्यक्रममा वक्ताहरूले एमालेले जनताको विश्वास जित्नका लागि स्थानीय विकासका मुद्दामा प्रभावकारी भूमिका खेल्नुपर्ने र संगठनभित्र एकता, अनुशासन र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिएका थिए । बैठक सफलतापूर्वक सम्पन्न भएपछि उपस्थित कार्यकर्ताहरूले संगठन सुदृढीकरण र आगामी राजनीतिक अभियानमा सक्रिय सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply