पुष्पराज खतिवडा
मनहर्वा,कोरोना भाइरस महामारीको दोश्रो चरण सुरु भएसंगै बारामा दिनप्रतिदिन कोरोना संक्रमित थपिदै जाँदा भिडभाड हुने स्थानहरुमा समेत मानिसहरुले माक्सको प्रयोग गरिएको पाइदैन ।
सदरमुकाम कलैयालगायत बाराको निजगढ, कोहल्वी, जितपुर, सिमराका स्थानीयले माक्सको प्रयोग र सामाजिक दुरी कायम गरेको पाइदैन । दोस्रो चरणको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिन थालेसँगै सार्वजनिक स्थनमा मास्क नलगाई हिँड्नेलाई बारा प्रहरीले कारबाही गर्न सुरु गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही थालेको हो ।
अभियान अन्तरगत जिल्लामा ९ सय ६९ जना कार्वाहीमा परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । बजार क्षेत्रमा बिनामास्क निस्केका ९ सय ६९ जनालाई कारबाही स्वरुप जनही १ सय रुपियाँ जरिवाना तिराइएको छ । जरिवनाबाट ९६ हजार ९०० राजस्व संकलन भएको र करिब ७ हजार भन्दा बढी मानिसलाई निःशुल्क माक्स समेत वितरण गरेको डिएसपी गौतमले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले करिब १० हजार भन्दा बढीलाई नियन्त्रणमा लिएर सम्झाई–बुझाई छाडेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले बैशाख १० गते माक्स नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले सक्रियता बढाएको हो ।
केन्द्र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र माक्सबीना हिँडडुल गर्ने माथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न स्थानीय प्रशासनले प्रहरीलाई निर्देशन दिएको हो । माक्स नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको छ । माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार कारबाही गर्ने क्रम जारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द पौडेलले बताउनुभयो ।
सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघ–संस्था र कार्यालयले यसको उल्लंघन गरेकाले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन स्थानीय प्रशासनले निर्देशन दिएको उहाँले बताउनुभयो ।
कोरोना भाइरस महामारीको दोश्रो चरणमा हालसम्म बारामा एक सय ११ जना मानिस कोरोना संक्रमित भएका छन् । यस्तै दुई जनाको मृत्यृ भएकोे छ । पहिलो चरणमा ३३ जनाले ज्यान गुमाएका थिए ।