स्थानीय निकाय भनेको कुनैपनि व्यक्तिका लागि घर नै हो । हरेक नागरिकहरुको आफ्नो दैनिकी वास्तवमा यही स्थानीय निकायसँग जोडिएको हुन्छ तर जेनजी आन्दोलनको नाममा गरिएको आगजनीबाट वडा कार्यालय भवन ध्वस्त बनेपछि निजगढ नगरपालिका वडा नम्बर १२ चिसापानीका सर्वसाधारणलाई कार्यालयको सेवा लिन २ घण्टा पैदल हिडनुपर्ने भएको छ र यो पीडा हो ।

गत भदौं २४ गतेको आगजनीमा जलेर नष्ट भएपछि सो वडाको चिसापानी, बुङ्गजोरलगायत गाउँका सेवाग्राहीहरु करिव १० किमी टाढा पर्ने वडा नम्बर १३ को वडा कार्यालयमा पुगेर अहिले सेवा लिन बाध्य भएका छन ।
वडा कार्यालय नागरिकको सम्पत्ति हो । वडा अध्यक्ष वा सदस्य खराब होलान् वा भए भन्दैमा वडा कार्यालय नै जलाउनु भनेको आफ्नै घर लजाउनु सरह नै हो ।

बाराको निजगढ नगरपालिकाले थर्माकोल जडित प्रिभ्याब प्रविधिको सो भवन ४ वर्षअघि ३० लाखको लागतमा निर्माण गरेको थियो । तर, खरानी भयो । यसले वडावासीलाई नै घाटा भयो, उनीहरुले नै सास्ति बेहोर्नुपर्ने अवस्था आयो । आगजनीबाट भवनसहित कार्यालयमा रहेको कागजपत्र, कम्प्युटर, फर्निचर लगायत सबै सामग्री जलेर नष्ट भएका छन ।
यसले वास्तवमा वडावासीलाई नै सिधा घाटा भएको छ । अहिले नागरिकहरुले नै पीडा झेल्न परेको छ । जसले जलाए, उनीहरुका लागि पनि वडा कार्यालय उत्ति नै आवश्यक छ । आफ्नो स्थानीय तह जलाएर फाइदा हुनै कुरै आउदैन । त्यसो त अन्य निकाय पनि जलाउनु उचित होइन तर स्थानीय निकाय जलाउनु झनै हुदैहुदैन यो कुरा सबैले बुझ्न आवश्यक छ । जनप्रतिनिधिहरुले खराब कामा गरेका छन भने त्यसको डटेर विरोध गरौं, खबरदारी गरौं तर आगजनी र तोडफोड जस्ता विध्वसात्मक कार्य कुनै हालतमा पनि नगरौं ।

Leave a Reply