सरकारले भन्दापनि स्थानीय प्रशासनले अहिले मुलुकभरका लगभग सबै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । बारा र पर्साका स्थानीय प्रशासनहरुले पनि लगभग दुई सातादेखि निषेधाज्ञा जारी राखेका छन् । निषेधाज्ञा जारी गर्नुको मतलभ भनेको कोरोना संक्रमणको दरमा कमी ल्याउनु नै हो । नागरिकहरुलाई सास्ती होस् वा उनीहरुले दुःख पाउनु भनेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको होइन ।
यो कुरामा सबैले ध्यान दिन जरुरी छ । सबै नागरिकहरुको स्वास्थ्य र जीवन बचाउनका लागि नै निषेधाज्ञा जारी गरिएको हो । तर बारा तथा यस आसपासको कुरा गर्ने हो भने निषेधाज्ञामा पनि प्रहरी प्रशासनको आँखा छल्ने मात्रै प्रयास गरेको देखिन्छ । नागरिकहरुको आँखा छल्ने भन्दा पनि आफू जोगिने र अरुलाई जोगाउनमा सबै नागरिकहरुको ध्यान केन्द्रित हुन जरुरी छ ।
अनि मात्रै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुको अर्थ हुनेछ । र आम नागरिकहरुको जीवन पनि बचाउन सकिनेछ । नत्र त सरकारको बाटो एउटा हुने भयो अनि नागरिकहरुको स्वास्थ्य फेरि संधै जोखिममा मात्रै रहने भयो । यो अर्थमा पनि निषेधाज्ञाको पूर्णपालना गर्न जरुरी छ । यसको कार्यान्वयनको लागि नै सबैले चासो दिन जरुरी छ ।