मुख्यतः २०६२-०६३ सालको जनआन्दोलनले मात्रै नपुगेर मधेसमा छुट्टै आन्दोलन मधेस आन्दोलन भएको थियो । जसले नेपालमा संघीय व्यवस्था ल्यायो । अन्तरिम संविधान नै संशोधन गर्न त्यतिखेरका प्रमुख दललाई बाध्य मात्रै पारेन, पछि लेखिने संविधानमा पनि त्यस्तो प्रावधान राख्ने सुनिश्चितता गर्यो । सँगसँगै मधेस केन्द्रित दलहरू खुले ।

०६४ सालको संविधानसभा निर्वाचनमा मधेस केन्द्रित दलहरूको बलियो उपस्थिति भयो । उपेन्द्र यादव नेतृत्वको दलले मात्रै त्यतिखेर ५४ सिट ल्याएको थियो । मधेस केन्द्रित सबै दलको गरी झन्डै ९० सिट थियो । तर, पछिल्लो निर्वाचन ७९ मा आएर भने मधेस केन्द्रित दल खुम्चिन थाले ।एमाले, कांग्रेस जस्ता परम्परागत शक्ति नै शक्तिशाली भए । मधेसका ३२ मध्ये त्यहींका दल १० सिटमा सीमित भए । आउँदो निर्वाचनको केन्द्रचाहिँ मधेस भए झैं भएको छ । प्रधानमन्त्रीका उम्मेदवार भनेर घोषित नयाँ पार्टी रास्वपाका उम्मेदवार बालेन्द्र शाहको पहिलो आमसभा उक्त पार्टीले मधेसमै ग¥यो । प्रचार अभियान पनि त्यहींबाट थाल्यो । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापाले चुनाव लड्न मधेसकै क्षेत्र रोजे । त्यस कारण पनि मधेसमा चुनावी माहोल झन् गर्माएको छ ।
पहिला शक्तिशाली बनेका तर फुटेर छिन्नभिन्न भएका मधेस केन्द्रित दलहरू झल्याँस्स ब्युँझिए झै भएका छन् । उपेन्द्र यादव र महन्त ठाकुर जस्ता शीर्ष नेताहरू एक ठाउँमा उभिएका छन् । तर, अघिल्लोपटक पहाडतिर पनि लोकप्रियता हाँसिल गरेका र मधेसमा नयाँ शक्तिका रूपमा उदाएका सीके राउतको पार्टी भने फुटेको छ । अनिल झासहितले परम्परागत दल कांग्रेस रोजिसकेका छन् ।प्रश्न यो चुनावमा मधेस केन्द्रित दलहरू कसरी आउलान् र प्रतिनिधिसभामा मधेसको उपस्थिति के होला भन्ने छ अनि मधेस आन्दोलनलाई किन बिर्सियो होला ?


















