सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष ताराबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
वडा अध्यक्ष कार्कीमाथि घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।
अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडा अध्यक्ष ताराबहादुर कार्कीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताउनुभयो ।


















