नेपालमा कम्यूनिष्ट भनिएका नेताका कारण धेरैलाई आफूलाई कम्यूनिष्टहरु भन्न पनि लाज लाग्ने स्थिति उत्पन्न भएको छ ।
अहिले निर्वाचन आयोगमा भएको दल दर्ताका रेकर्ड मात्र हेर्ने हो भने पनि एक दर्जनभन्दा बढी दलहरु कम्यूनिष्टका नाउमा छन् । तर व्यवहारमा उनीहरु चरम पूँजीवाद र दलालवादमा रुपान्तरित छन् ।

नेकपा एमाले न त कम्यूनिष्ट भनेर बस्न सक्यो न त माओवादी वा अन्य अन्य दलहरु । नेपालको सन्दर्भमा कम्यूनिष्ट पार्टीलाई भजाउने ठूलो हतियार बरु यिनीहरुले बनाइ रहेका छन् । एमालेमा मदन भण्डारी र मनमोहनको अवसानपछि लामो समय माधव नेपालले कम्यूनिष्टको नाम भजाएर राज गरेकै हो । अनि अहिले केपी ओलीले त्यस्तै राज गर्दैछन ।
माओवादीले त ठूलो विध्वस्त नै यो देशमा मच्चाएको थियो । कम्यूनिष्ट वा माओको नाउँमा उसैका कारण करिब सत्र हजार नेपालीहरुको अनाहकमा ज्यान गएको छ भने सयौं भौतिक संरचनाहरु त्यो समयमा तोडफोड र आगजनी भएका थिए ।
अब यो माओवादी भन्ने पार्टी र यसका अध्यक्षमा प्रतिक्रान्तिको घिनलाग्दो संकेत देखिएको छ ।

पछिल्लो समय कथित कम्यूनिष्टको नाउमा प्रचण्ड, माधव नेपालहरु एक भएपछि प्रचण्डको माओवादी र माधवको लेलिनबाट हावा खाएको छ ।अब उनीहरु विशुद्ध एक अवसरवादी समूहको रुपमा स्थापित भएका छन् । जसले जे भनेपनि नेपालमा खासै कम्यूनिष्ट थिएनन् र छैनन् पनि र प्रचण्ड र माधवहरुको एकता कुनै अर्थमा पनि कम्यूनिष्ट एकता होइन । यो अवसरवादीहरुको एकता हो । यसले देशलाई केही फाइदा गर्दैन । बरु यत्ति भन्न सकिन्छ यो बिग्रिएका प्रतिक्रान्तिकारीको चैं झुण्ड हो ।यो एकताले देश र जनतालाई खासै केही नयाँ कुरा दिन नसक्ने निश्चित छ । यो उनीहरुको अर्को जनता ठग्ने पसल हो अब यो कति चल्छ त्यो चैं चुनावसम्म कम्तीमा कुर्नु पर्दछ ।

 

Leave a Reply