कलैया,जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषधको अवैध ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रजयनगर र बारागढीबाट खटिएको प्रहरी टोलीले चार हजार पाँच सय पिस प्रतिबन्धित लागूऔषध (एम्पुल) सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
असार २९ गते बेलुका बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका– ४ हर्नैया चौकमा दुई वटा आपको क्यारेटमा बेवारिसे अवस्थामा लागूऔषध फेला परेको थियो । प्रहरीले उक्त औषध बरामद गरी अनुसन्धान गर्दा लागूऔषध भारतको बिहार राज्य मोतिहारी जिल्लाका तीन व्यक्तिहरूले ल्याई लुकाएर राखेको खुल्न आएको थियो ।
प्रहरी निरीक्षक कुसुम नायकको कमान्डमा खटिएको प्रहरी टोलीले असार ३० गते पचरौता नगरपालिका– २ चपुरी चौकबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य मोतिहारी जिल्ला बिजबनी पञ्चायत थाना जितना – २२ रेगनीया टोलका १९ वर्षीय कन्हैयाकुमार यादव, वडा नम्बर १ बलुवा टोलका २० वर्षीय वकिल कुमार यादव र वडा नम्बर २ रेगनीया टोलका २६ वर्षीय बलिरामकुमार यादव रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । लागूऔषधको अवैध कारोबारविरुद्ध प्रहरीको कारबाहीले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



















