दुष्यन्त चौधरी

कलैया , १७ कार्तिक । बारा जिल्लाको करैयामाई गाउँपालिकाबाट जारी गरिएको एउटा सामान्य जस्तो देखिने सूचना अहिले गम्भीर विवादको केन्द्र बनेको छ। गाउँपालिकाले सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशन गर्दा २०८२ साल कार्तिक १९ गते हुनुपर्ने ठाउँमा २०८१ साल कार्तिक १९ गते उल्लेख गरेपछि गल्ती खुलेको थियो। तर त्यसपछि गाउँपालिकाले गल्ती सच्याउने नाममा हातले मिति काटेर सच्याई पुनः सार्वजनिक गरेको पाइएको छ।

यो घटनाले गाउँपालिकाको प्रशासनिक कार्यशैली, जिम्मेवारी र पारदर्शिताप्रति गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा यस घटनाप्रति तीव्र आलोचना भइरहेछ।

स्थानीय गोबिन्दा चौधरीका अनुसार, यस्ता गल्ती र अव्यवस्थित कार्यशैली गाउँपालिकामा नयाँ होइन। केही वर्षयता सार्वजनिक सूचना, ठेक्का विवरण र कर्मचारी पत्राचारमा यस्ता साना तर संवेदनशील त्रुटिहरू दोहोरिँदै आएको आरोप उनीहरूले लगाएका छन्।

उक्त सूचना गाउँपालिकाको लेटरहेडमा हातले लेखेर पुनः  प्रकाशित गरी कार्यालयको आधिकारिक फेसबुक पेज र अन्य माध्यमबाट प्रसारित गरिएको छ ।  तर मितिमा भएको यस स्पष्ट गल्तीले प्रशासनिक जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ।

“एक सरकारी कागजातमा यति स्पष्ट गल्ती हुनु सामान्य कुरा होइन,” एक स्थानीय रामपुकार चौधरीले भने, “अध्यक्षकै हस्ताक्षर भएको पत्रमा यस्तो गल्ती हुनु भनेको कार्यालयमै लापरबाही संस्थागत भएको प्रमाण हो।”

सामाजिक सञ्जालमा पनि यो विषय तीव्र रूपमा भाइरल भएको छ। प्रयोगकर्ताहरूले गाउँपालिकाको प्राविधिक र प्रशासनिक संयन्त्रप्रति असन्तुष्टि जनाउँदै ‘साना कुरा ठूला गल्तीको संकेत हुन्’ भन्दै टिप्पणी गरेका छन्।

प्रशासनिक नियमानुसार कुनै पनि सार्वजनिक सूचना प्रेषण अघि मिति, हस्ताक्षर र विषयवस्तुको दोहोरो प्रमाणीकरण गर्नुपर्ने हुन्छ। तर यो सूचनामा त्यो प्रक्रिया पालना नभएको प्रष्ट देखिएको छ। 

Leave a Reply