पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले नेपाल विद्युत प्राधिकरणले जिल्ला सदरमुकाम कलैया आसपासको क्षेत्रको लागि भइरहेको विद्युत प्रशारण लाइन विस्तार कार्यमा अवरोध गर्नुभएको छ ।
राष्ट्रिय प्रशारणको पिलुवास्थित १३२ केभिए सवस्टेसनबाट सदरमुकाम कलैयाको लागि तान्न लागिएको नयाँ प्रशारण लाईनको पोल गाडन नदिएर अध्यक्ष खरेलले शुक्रवार अवरोध गर्नुभएको हो । वडा अध्यक्ष खरेलले लाईन विस्तारका क्रममा प्राविधिणका कामदारले पोल गाडन भनेर खेनेका ३ वटा खाल्डा पुर्न लगाउनुभएको छ ।

कानुनी मापदण्ड समेत पुरा नगरी ३३ केभिए क्षमताको लाईन विस्तार गर्न खोजिएकाले अवरोध गर्नुपरेको वडा अध्यक्ष खरेलले बताउनुभएको छ । पोलको न्युनतम् उचाइ १३ मिटर हुनुपर्नेमा ११ मिटर मात्रै राखिएको र स्थानीयको घरको धुरीमाथिबाट लाइन तानिएकोले उत्पन्न हुने जोखिमलाई मध्ये नजर गरेर आफूले पोल गाडन नदिइएको उहाँको भनाई छ । जनताको जिउधनको सुुरक्षा, क्षतिपूर्ति र मुअब्जालाई प्राथमितामा राखेर विद्युत प्रशारणलाईन विस्तारको काम हुनुपर्ने अध्यक्ष खरेलको भनाई छ ।
वडा अध्यक्षले अवरोध गरेपछि लाईन विस्तार कार्यमा समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीले यसअघि पिलुवाबाट वीरगञ्ज हुदै कलैयामा विस्तार गरिएको लाइनमा प्रशारण क्षमता कमजोर भएको र कलैयासहित आसपास क्षेत्रमा विद्युत आपूर्तिमा समस्या हुँदै आएपछि हाल पिलुवाबाट सिधै कलैया जाने गरी १७ किलोमिटर दुरीमा लाईन विस्तार गर्न लागिएकोमा जनप्रतिनिधिहरुको अवरोधका कारण काम अवरुद्ध बनेको बताउनुभयो ।स्थानीय तहसहित सरोकारवालाहरुसँगको परामर्शमा काम अघि बढेको भएपनि पछिल्लो समयमा उत्पन्न अवरोधको बारेमा पुनः छलफल गरी निकास निकालेर लाइन विस्तारको काम अघि बढाइने प्राधिकरण सिमरा शाखाका प्रमुख रुपाखेतीको भनाई छ ।

Leave a Reply