रौतटह,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको दुई तिहाइको सरकार ढाल्ने ब्यक्ति माधव नेपाल नै भएको प्रष्ट पार्नुभएको छ ।नेपालको गृहजिल्ला रौतहटमा बिहीवारबाट सुरु भएको नेकपा एमालेको १०औं जिल्ला अधिबेशनको उद्धाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । माधव नेपाल प्रतिक्रियावादीको मतियार बनेर उहाँले पार्टी नेतृत्वको दुई तिहाइको सरकार भएको घर भत्काउने काम गरेको बताउनु भयो । उहाँले माधव नेपालले अहिले गठबन्धनलाई आफनो घर बताउँदै आफ्नै घरमा आगो लगाएको बताउनु भयो ।

गठबन्धन पनि कुनै घर हुन्छ भन्ने प्रश्न गर्दै ओलीले भन्नुभयो, ‘माधव नेपाल अहिले स्वतन्त्र संसदको हैसियतमा छन उनीसँग जनताले के आस गरुन ? पार्टीमा माधव १५ बर्ष नेतृत्व लिएर लाभको मात्रै पदमा बसे तर संगठन निमार्ण र जनताको लागि केही पनि गर्न सकेनन ।’ एमाले अध्यक्ष ओलीले माधव नेपालले राजनीति नगर्दै आफूले रौतहटबाटै ५१ वर्षअघि संगठनको काम गरेको तथ्यसमेत स्मरण गर्नुभयो ।

पञ्चायतबिरोधी आन्दोलनको क्रममा ओली ५१ वर्षअघि २०२९ सालमा रौतहटबाटै गिरफ्तार हुनुभएको थियो । ‘रौतहटको कुना–कुनामा म लुकेर पार्टी संगठनको काम गरेको अहिले पनि बिर्सेको छैन,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले प्रभु साहमाथि पनि कडा प्रहार गर्नुभयो । साहप्रति लक्षित गर्दै अध्यक्ष ओलीले अर्काे निर्वाचनमा जमानत नै जफत हुने ठोकुवा गर्नुभयो । उहाँले ‘एक मेयरका श्रीमानको त अर्को निर्वाचनमा जमानत जफत नै हुने’ भन्दै साहमाथि प्रहार गर्नुभयो । चुनावको मुखमा आएर पार्टीलाई धोका दिने प्रभु साहको राजनीति सकिएको अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले बिथोलेको भन्दै आपत्ति पनि जनाउनु भयो । एमालेको पालामा बनेको पोखरा विमानस्थल र भैरहवा बिमानस्थल यो गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको उहाँको भनाई थियो ।

‘एमालेको पालामा बनेको बिमानस्थल चलाउन नसक्ने निकम्मा सरकारले के देश चलाउला ?’ ओलीको प्रश्न थियो । उहाँले अहिलको सरकार निकम्मा रहेको र यो सरकारले भ्रष्टचारलाई मात्रै बढवा दिइरहेकोले चाँडै अन्त्य हुने बताउनु भयो । ‘ओलीले थप्नुभयो, ‘यो निकम्मा सरकारले भ्रष्टचारलाई मात्रै बढवा दियो । यस्को चाँडै अन्त्य हुन्छ ।’उहाँले २०१५ सालमा कम्युनिष्टहरुको लालकिल्लाको रुपमा रहेको रौतहटलाई पुनः एमालेको लालकिल्लाको रुपमा बिरासत फर्काउनका लागि नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । ‘तपाईहरु नम्रता, विनम्रता र जनताले मान्ने खालको नेता बन्नुस, २०१५ सालको लालकिल्ला कायम गर्नेतिर लाग्नोस,’ ओलीले भन्नुभयो ।

गरुडामा रहेको श्रीराम सुगर मिल्स संचालन गर्न आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानार्कषण गर्ने जानकारी पनि उहाँले सम्बोधनको क्रममा दिनुभयो । ‘अब एक–दुई दिनमा प्रधानमन्त्रीसँग भेटेर यसबारे कुरा राख्ने अध्यक्ष ओलीको भनाई थियो ।कार्यक्रममा एमाले सचिव एवंम मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले वर्तमान सरकार अहिलेसम्मकै निकम्मा सावित भएकोले यसलाई फेर्न जरुरी रहेको धारणा राख्नुभयो । यो सरकार उदेश्यबिहिन र भ्रष्टाचारको संरक्षणकर्ता मात्रै बनेको सचिव भट्टराईको निचोड छ । एमालेकै अर्का सचिव रघुवीर महासेठले अब मधेस एमालेमय बन्न कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो ।

गरुडाको चिनी मिल फिल्डमा भएको अधिवेशनको उद्धाटन समारोहमा एमाले पोलिटब्यूरो सदस्य एवंम रौतहट जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, उद्धबप्रसाद रेग्मी, रेखा झा, प्रदेश उपसचिव आरती भण्डारीलगायतका नेताहरुले पनि आफ्नो धारणा राख्नुभएको थियो ।यसैबीच एमालेका अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले चलाएको हिंसालाई राष्ट्रिय उत्सवका रुपमा मनाउने सरकारको निर्णय गलत रहेको बताउनुभएको छ ।जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेको प्रशंगमा बिहीवार सिमरा विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिदै ओलीले माओवादी नेतृत्वको अनुचित निर्णय खारेज भएको बताउनुभयो ।‘जनयुद्ध दिवसका नाममा विदा दिने निर्णयले द्धन्दको भावना कायम राख्ने र द्धन्दकालिन पीडितको मन अझै फटाउने काम भईरहेको थियो’ ओलीले भन्नुभयो, ‘माओवादीले चलाएको हिंसा राष्ट्रको उत्सव बन्नसक्दैन ।’जनयुद्धबाट देशले महान सफलता प्राप्त गर्न नसकेको भन्दै एमाले अध्यक्ष ओलीले उक्त दिवसका दिन विदा दिने निर्णय माओवादी नेतृत्वको उत्ताउलोपना रहेको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here