गाेकुल घाेरसाइने,

निजगढ, १६ भदौँ– निजगढ नगरपालिकामा मंगलबार बसेको सर्वपक्षीय बैठकले नगरभित्रका पसल र अन्य व्यवसाय बिहान ८ बजेदेखि दिउसो २ र होटल तथा लज भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्ने व्यवस्था मिलाउन कोरोना भाइरस विपद व्यवस्थापन, न्युनीकरण तथा समन्वय नगर स्तरीय समितिलाई सुझाव दिने निर्णय गरेको छ ।

 

निजगढका व्यवसायीहरुले पसल तथा होटल पुर्णरुपमा संचालन गर्न पाउनुपर्ने माग राखेर नगरप्रमुख सुरेश खनाललाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नगरपालिकामा उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ र स्थानीय व्यवसायीसहित बसेको बैठकले व्यवसाय संचालन सम्बन्धि यसअघि निजगढ नगरपालिकाले जारी गरेको कार्यविधि शंसोधन गरेर अर्को समयसिमा निर्धारणको लागि सुझाव दिएको हो ।

 

निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, होटल संघका प्रभात सिग्देल र पुस्तक तथा स्टेशनरी संघका सागर थोकरले हस्ताक्षर गरेर सोमबार बुझाएको ज्ञापनपत्रमा कोरोना भाइरस महामारी संक्रमणको नाममा जारी लकडाउनका कारण व्यवसाय धरासायी बनेको भन्दै बुधबारसम्ममा आफना माग पुरा नभए जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा उल्लघंन गर्दौ बिहिबारबाट नगरका सबै पसल तथा व्यवसाय पुर्णरुपमा संचालनमा ल्याउने चेतावनी दिएका थिए । जिल्ला प्रशासन कार्यालय बाराले पनि जारी निषेधाज्ञा खुकुलो पार्दै मंगलबारबाट बिहान १० देखि ४ बजेसम्म पसल खोल्न दिने निर्णय गरेको थियो ।


बैठकमा व्यवसाय संचालन गर्दा नेपाल सरकार र स्थानीय प्रशासनले निर्धारण गरेकोे सुरक्षा मापदण्ड अनिवार्य रुपमा पुरा गरेको हुनुपर्ने सहमति पनि भएको छ । कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सुरक्षा उपाय अबलम्बन गरे नगरेको अनुगमनपछिमात्रै व्यवसाय संचालन गर्ने अनुमति दिइने सहमित भएको नगरपालिका सुचना अधिकृत रविन घिमिरेले बताउनुभयो । त्यसको लागि नगरपालिकाका एक जना अधिकृत स्तरका कर्मचारी संयोजक रहेको अनुगमन समिति गठन गर्न पनि सुझाइएकाे छ ।

बैठकमा नगरपालिका उपप्रमुख लिलादेवी लामिछाने, पर्यटन व्यवसायी तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, अगुवा व्यवसायी ज्ञानेन्द्र चौलागाईलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here