डिजिटल कारोबार थप सुरक्षित र विश्वसनीय बनाउने उदेश्यले कलैयामा कम्प्युटर एसोसिएसन नेपाल महासंघ बारा शाखाले सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम सुरु गरेको छ ।कलैया उपमहानगरपालिकाको सहयोगमा मंगलवारबाट शुरु भएको सो कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुमा डिजिटल प्रविधिको सही र सुरक्षित प्रयोगबारे ज्ञान, सीप वृद्धि गर्न सहयोग पुग्ने बताइएको छ।

कार्यक्रममा परवानीपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत रवि जैसवालले जनप्रतिनिधिहरूलाई डिजिटल पहुँच,साइबर सुरक्षा,स्मार्ट प्रशासन,अनलाइन सेवा,एआई टुल्स,साइबर अपराध र त्यसबाट बच्ने उपायहरूबारे जानकारी दिनुभएको थियो ।त्यस्तै प्रहरी सहायक निरीक्षक रन्जनकुमार साहले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको साथै यसको कानुनी पक्ष,साइबर अपराध र ब्ल्याकमेलिङबाट जोगिने उपायहरुको बारेमा जनप्रतिनिधिहरुलाई जानकारी दिनुभएको थियो । उहाँले जनप्रतिनिधिहरुलाई हप्तामा एक दिन “इलेक्ट्रोनिक डिभाइस होलिडे“ मनाउन समेत सुझाव दिनुभयो ।

कलैया उपमहानगरपालिकाको सभा हलमा शुरु भएको सो कार्यक्रमश्री दुर्गा नमुना माध्यमिक विद्यालय र श्री ३ चन्द्र माध्यमिक विद्यालयमा आगामी शुक्रवारसम्म संचालन हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिनुभयो ।क्यान बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा नगर प्रमुख विनोदप्रसाद साह, उपप्रमुख रौशन प्रविण,प्रमुख प्रशासकीय अधिकृत नाथु साह, २७ वटै वडाका वडा अध्यक्षहरू,शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत राजिव यादव,क्यान बाराका निवर्तमान अध्यक्ष संजय केशरी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा क्यान मधेस प्रदेश अध्यक्ष गणेश शर्माले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्यानका जिल्ला बारा सचिव विनोद साहले गर्नुभएको थियो ।

Leave a Reply