काठमाडौं, २९ भदौं । जेनजी अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।
मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षत्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।
तर, अचानक उनलाई बाहिरबाट प्रेसमिटमा छिरेका व्यक्तिले सोध्छन्, “ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो रु प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईंहरुले कार्यन्वयन गर्न सक्नुभएको छ ? तपाईंहरुले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईहरुलाई ?’
यसपछि सुधनले सोध्छन्, “कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ।’
प्रश्नकर्ताले भन्छन्, “अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन् ।’ सुधनले भन्छन्, हामी फेरि आन्दोलन गर्छौ । आउनै दिन्नौं । नेताहरुलाई घरबाट निस्कनै दिन्नौं ।’ सुधन यतिमै रोकिँदैनन्, “एक छिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त ।’
प्रश्नकर्ताको प्रश्नले सुधन रिसाउँछन् । चिच्याउँदै बोल्छन्, “८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन ? आगलागी हामीले गरेको हो रु हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’ यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आ–आफ्नै सुरमा बोल्न सुरु गर्छन् । सुधन पोडियमबाट बाहिरिन्छन् । साभार : नेपाल प्रेस



















