वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी मूल्य बराबरको सामाग्री सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
बिलविजकभन्दा बढी मूल्यको खुद्रा तथा औषधीजन्य सामाग्री बोकेको ट्रक गइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट ट्रक नियन्त्रणमा लिएको हो ।
ना. २ ख ९७३८ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा न्यु बजरंग ट्रान्सपोर्टबाट पठाइएको ट्रकको बिलविजक शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अनलाईन भिसिटिएस बिल साथमा नहुँदा ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
ट्रकमा रहेका खुद्रा तथा औषधी जन्य सामाग्रीको ६७ लाख ७२ हजार ५ सय १४ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरीले बताउनुभयो ।